06/14/2025, 23:20:34

गार्मा बन्यो सोलुखुम्बुकै पहिलो बालमैत्री वडा


सोलुखुम्बु, ३१ जेठ : यहाँको सोलुदूधकुण्ड नगरपालिका–७ गार्मा जिल्लाकै पहिलो बालमैत्री वडा बनेको छ । बालमैत्री स्थानीय शासनको अवधारणालाई आत्मसात् गर्दै बालमैत्री अभ्यासमा उल्लेखनीय प्रगति गरेपछि बिहीबार एक समारोहका बीच यस वडालाई बालमैत्री शासनयुक्त वडा घोषणा गरिएकोे हो ।

विसं २०६८ देखि कार्यान्वयनमा आएको बालमैत्री स्थानीय शासन घोषणाका कुल ५१ वटा सूचकमध्ये ५० वटा अर्थात् ९८ प्रतिशतभन्दा बढी सूचाकाङ्क पूरा गरेपछि वडालाई बालमैत्री घोषणा गरिएको जनाइएको छ । सर्वेक्षणअनुसार यस वडाका पाँच सय १३ घरपरिवारका दुई हजार ४६६ नागरिक बालमैत्री सोच, व्यवहार तथा अभ्यासमा सहभागी छन् ।

जिल्ला समन्वय समिति प्रमुख कृष्णप्रसाद निरौलाले बालमैत्री अभ्यासमार्फत सशक्त नागरिक निर्माण गर्ने प्रक्रियामा सोलुदूधकुण्ड नगरपालिका–७ को प्रयास उदाहरणीय भएको बताउनुभयो । “बालमैत्री सोच राख्ने समाज नै समृद्ध राष्ट्र निर्माणको जग हो”, उहाँले भन्नुभयो, “यस अभियानमा वडाको योगदान सराहनीय छ ।

विद्यालय, अभिभावक, सामुदायिक संस्था, युवा क्लब र वडास्तरीय निकायको साझा पहलले बालबालिकालाई केन्द्रमा राखेर योजना निर्माण, निर्णयमा सहभागी गराउने अभ्यास र प्राथमिकताको कार्यान्वयनमा सशक्त भूमिका निर्वाह गरिएको सोलुदूधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पाले बताउनुभयो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ