२८ जेठ, काठमाडौं : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर एमाले अघि बढेको बताएका छन् । मन्त्रिपरिषद् बैठकका निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुको प्रश्नमा बुधबार सरकारका प्रवक्ता गुरुङले आफूहरू झोल खाने नभई जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका झोले भएको बताएका हुन् ।
आफूले एमालेले उठाएका जनताका माग, मुद्दाको झोला बोकेर अहिलेसम्मको स्थितिमा आएको बताउँदै पार्टीको नीति सिद्धान्त, झण्डा बोकेकाले एमाले पार्टीको झोले हुनमा गौरवबोध गर्नुपर्ने उनले बताए । एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको समेत उनको भनाइ छ । सुशासन नभइकन सामाजिक र आर्थिक रूपान्तरण हुन नसक्ने र त्यसको झोला एमालेले बोकिरहेको उनले बताए ।
के भन्छन् मन्त्री गुरुङ ?
झोल खानेलाई पनि झोले भन्छ, झोला बोक्नेलाई पनि झोले भन्छ । हामीले झोल खाने झोले भनेको होइन । हाम्रो अहिलेको प्रधानमन्त्री जो एमालेको अध्यक्ष पनि हुनुहुन्छ, उहाँले भन्न खोज्नुभएको झोले भनेको हामी पार्टीको झोला बोक्ने, जुन पार्टीमा झोला बोकर काम गरेका छौँ, नीति सिद्धान्त, झण्डा पनि हो । एमालेको झोले हुन किन म तयार छु भने एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त बोकेको छ । त्यसैले अटेको छ । आजको जनताको बहुदलीय जनवादलाई एमालेले अहिलेको लोकतन्त्रलाई हामीले त्यसको वृहत रुपमा किन्प्रिहेन्सिभ डेमोक्रेसी भनेका छौँ । त्यो झोलाको सिद्धान्त बोकेको कार्यकर्ताको पार्टी हो एमाले ।
एमालेको राष्ट्रियता, कुटनीति, प्रजातन्त्र लोकतन्त्रप्रतिको सिद्धान्त वा अहिलेको गुड गभर्नेन्स कसरी चलाउने, गुड गभर्नेन्स नभइकन सामाजिक आर्थिक रुपान्तरण हुँदैन, समाजवादको आधार तयार हुँदैन । हाम्रो दर्शन, फिलोसोफी, सिद्धान्त, राजनीति बोकेर जसले हिँड्छ त्यो एमालेको झोला बोक्ने मान्छे हो भनेको हो ।