२८ जेठ, अमेरिका : लस एन्जलसमा कर्फ्यू लगाइएको छ ।
आप्रवासीविरुद्ध छापामारीविरुद्ध जारी प्रदर्शन हिंस्रक बन्दै गएपछि लस एन्जलसकी मेयर करेन बासले आंशिक कर्फ्यूको घोषणा गरेकी हुन् । उनले भनिन्, ‘राति ८ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यू रहनेछ । पूरै सहरमा धेरै क्षति पुगेको छ । सोही कारण पनि कर्फ्यू जरुरी छ ।’
लस एन्जलस प्रहरी प्रमुख जिम म्याकडोनेलले सहरमा लगातार बढ्दो अशान्तिका कारण मानिसहरुको ज्यान जोगाउन र सम्पत्तिको सुरक्षाका लागि कर्फ्यू आवश्यक रहेको बताएका छन् । कर्फ्यू तोड्नेलाई पक्राउ गर्ने चेतावनी दिइएको छ । शनिबार २७, आइतबार ४० र सोमबार ११४ गरी अहिलेसम्म १९७ जनालाई पक्राउ गरिएको छ ।