काठमाडौँ, २५ जेठः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नेपालका कला र सांस्कृतिक सम्पदाको संरक्षणमा ललितकलाको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।
उहाँले आज नक्सालस्थित ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’को भ्रमण गर्दै सातै प्रदेश प्रतिनिधित्व हुने गरी राखिएका कलाकृति प्रदर्शनीमा देख्न पाएकामा खुशी व्यक्त गर्दै नेपाल कलाका हिसाबले निक्कै धनी रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “प्रदर्शनी नेपाल कलामा कति धनी छ भन्ने कुराको एउटा प्रमाण पनि हो । सिङ्गो नेपालको कलाकृति, प्रतिभा र क्षमता यहाँ प्रदर्शन भएको छ भन्ने मलाई अनुभूत भएको छ ।”
उहाँले यस्ता कला र संस्कृतिलाई पर्यटनसँग जोड्न सकियो भने देशले अर्को एउटा महत्त्वपूर्ण फड्को मार्न सक्ने पनि बताउनुभयो । कलाको प्रचार र विकास गर्दा पर्यटनको विकास हुने अध्यक्ष दाहालको भनाइ थियो । “आम्दानी र रोजगारी सिर्जना हुने यस्ता खालका सबै विषयवस्तुलाई ठिक ढङ्गले व्यवस्थापन गर्नुपर्दछ । हामीसँग कला छ, संस्कृति छ । यसलाई व्यवस्थित तरिकाले प्रचार–प्रसारलगायत काम गरेमा धेरै उपलब्धि हासिल गर्न सकिन्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।
उहाँले अघिल्लो वर्ष पनि कलाकृति हेर्न आएको स्मरण गर्दै यसपटक विगतभन्दा तुलनात्मक रूपले विकास भएको पाएको पनि बताउनुभयो । ललितकला नेपालको धरोहर भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नेपाली जनताका बीचमा यसका महत्व र आवश्यकताबारे बोध गराउने काम गर्नुपर्ने र त्यसका निम्ति आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
केही दिनअघि मात्रै सभामुख देवराज घिमिरेले पनि उक्त प्रदर्शनी अवलोकन गर्नुभएको थियो । त्यस क्रममा उहाँले नेपाललाई कलामार्फत विश्वमा परिचित गराउनुपर्नेमा जोड दिनुभएको थियो ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले ‘प्रादेशिक ललितकला प्रदर्शनी २०८१’ मार्फत छानिएका प्रतियोगी, अप्रतियोगी र आमन्त्रित कलाकृति गरी देशका ६५ जिल्लाका ६०५ कलाकारका ६५० भन्दा बढी कलाकृति समावेश गरेर ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८२’ को आयोजना गरेको हो ।
जेठ ३१ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा ललितकलाका विविध विधाका साथै मुख्यतः थारू, अवधी, मिथिला, नेवार, पर्वते, भोजपुरी, तामाङ, राउटे, डोम, राई, किरातलाई प्रतिनिधित्व गर्ने कलासमेत राखिएका छन् ।