२५ जेठ, काठमाडौं : नागढुंगा-नौबिसे सडकको पिप्लामोड खण्ड सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ । यसअघि जेठ १० देखि आज (आइतबार) सम्म दैनिक साढे चार घण्टा बन्द हुँदै आएको थियो । दैनिक बिहान साढे १० बजेबाट दिउँसो ३ बजेसम्म बन्द गरेर सडक निर्माण तथा सुधारको काम भइरहेको थियो ।
उक्त काम नसकिएपछि थप पाँच दिन त्यही समय राखेर सवारी आवागमन बन्द गरी काम गर्न लागिएको नागढुंगा-मुग्लिन सडक पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले बताए । अब भने थपेको समयभित्र काम सकिने उनको भनाइ छ । ‘अब नागढुंगा चेकपोस्टबाट १ किलोमिटर मात्र कालोपत्र गर्न बाँकी छ,’ उनले भने, ‘झ्याप्ले खोलामा १ सय मिटरमा कालोपत्र गरिँदैन, नागढुंगा–सिस्नेखोला सुरुङबाट काठमाडौंतर्फ आउने सडक २.२ किमि कालोपत्र गरिसकिएको छ ।’
उक्त अवधिभर सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आयोजनाले आग्रह गरेको छ । आयोजनाले साना तथा मझौला सवारीसाधनका लागि वैकल्पिक रुटका रुपमा सीतापाईला–रामकोट–धार्के सडक र सामाखुसी–टोखा–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न भनेको छ । विभिन्न जिल्लाबाट काठमाडौं भित्रिने सवारी साधनलाई धादिङको खानीखोलामा रोकेर काम गरिएको आयोजनाले जनाएको छ ।