गण्डकी, २४ जेठः सन् १९५० जुन ३ मा अन्नपूर्ण (प्रथम) हिमालको कीर्तिमान आरोहण गर्नुभएका फ्रान्सका मौरिस हर्जोगको पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय परिसरमा सालिक स्थापना गरिएको छ । हिमाल आरोहणमा इतिहास कायम भएको ७५ वर्ष पूरा भएको अवसरमा हर्जोगसहित आरोहण दलका मुख्य सहयोगी आङ थार्के शेर्पा र वालुङ सोनाम शेर्पाको सालिक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे र फ्रोन्सेली राजदूत भर्जिनी कोर्टेभलले अनावरण गर्नुभएको हो ।
आठ हजार मिटरभन्दा अग्ला हिमालमा पहिलोपटक मानव पाइला परेको दिन सन् १९५० जुन ३ लाई अन्नपूर्ण आरोहण दिवसका रूपमा बर्सेनि मनाउने गरिन्छ । यस वर्ष अन्नपूर्ण हीरक महोत्सवका अवसरमा आयोजित उक्त दिवसमा सङ्ग्रहालयमा हर्जोगको सालिक स्थापना गरिएको हो ।
कार्यक्रममा पर्यटनमन्त्री पाण्डेले विश्वको पर्वतारोहण इतिहासमा अन्नपूर्ण आरोहणको महत्त्पूर्ण स्थान रहेको बताउनुभयो । “अन्नपूर्ण हिमाल आरोहण मानव जातिको इतिहासमा नौलो घटना थियो, जसले नेपालको गौरवलाई विश्वव्यापी बनायो”, उहाँले भन्नुभयो, “नेपाललाई चिनाउने बुद्ध, बेद र हिमालले हो, हाम्रो देश हिमालहरूको तीर्थस्थल हो ।”
सन् १९५० जुन ३ अर्थात् २००७ साल जेठ २१ मा फ्रान्सका हर्जोग र लुइस लचेनले विश्वको दसौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमाल चढेका थिए । त्यसको तीन वर्षपछि मात्र विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला परेको थियो ।
अन्नपूर्ण हिमालको आरोहणको दुई वर्षपछि हर्जोगले लेखेको पुस्तक ‘अन्नपूर्ण’ले नेपालको चिनारी विश्वमाझ फैलिएको थियो । हर्जोगको स्मृतिमा सङ्ग्रहालयमा ‘क्लाइम्बिङवाल’ बनाउने योजना रहेको सङ्ग्रहालय सञ्चालक नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानिरु शेर्पाले बताउनुभयो ।
उक्त अवसरमा अन्नपूर्ण हिमाल आरोहणका क्रममा हर्जोगले प्रयोग गरेको ‘आइसएक्स’ सङ्ग्रहालयलाई प्रदान गरिएको थियो । हर्जोगका छोरा म्याथियससहित परिवारका सदस्यले उक्त आरोहण सामग्री सङ्घका अध्यक्ष शेर्पालाई हस्तान्तरण गर्नुभएको थियो ।
स्वीजरल्याण्डको ओलम्पिक म्युजियममा रहेको उक्त ‘आइसएक्स’लाई एक वर्षका लागि पर्वतीय सङ्ग्रहालयको प्रदर्शनीकक्षमा राखिने छ । म्याथियसले सङ्ग्रहालयलाई प्रदान गरेको ‘आइसएक्स’ एक वर्षपछि पुनः ओलम्पिक म्युजिममा पठाइने सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले जानकारी दिनुभयो ।