गाजा, २१ जेठ : संयुक्त राज्य अमेरिकाको सहयोगमा रहेको मानवीय सहयोग निकायले वितरण केन्द्रहरूतर्फ जाने सडकलाई लडाइँको क्षेत्र मानिने इजरायली सेनालाई चेतावनी दिँदै गाजाका सहायता केन्द्रहरू अस्थायी रूपमा बन्द गरिने बताएको छ ।
मङ्गलबार गाजामा इजरायली सेनाले संयुक्त राज्य अमेरिकाको सहयोगमा रहेको गाजाको ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ) द्वारा सञ्चालित एक केन्द्र नजिकै गोली चलाउँदा २७ जनाको मृत्यु भएको थियो । इजरायलले हालै प्यालेस्टिनी क्षेत्रमा नाकाबन्दी गरेपछि गाजाको सम्पूर्ण जनसङ्ख्या अनिकालको जोखिममा रहेको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।
संयुक्त राष्ट्र सुरक्षा परिषदले बुधबार गाजामा युद्धविराम र मानवीय पहुँचको आह्वान गर्ने प्रस्तावमा मतदान गर्ने कार्यक्रम तय भएको छ । जीएचएफले बुधबार आफ्नो नवीकरण, पुनर्गठन र दक्षता सुधारका लागि वितरण केन्द्रहरू बन्द गरिने र बिहीबार पुनः सञ्चालन सुरु गर्ने बताएको छ । मङ्गलबार जीएचएफ केन्द्र नजिकै भएको आक्रमण पछि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले खाद्यान्न सहायता खोजी रहेका प्यालेस्टिनीहरूको हत्यालाई अस्वीकार्य भन्दै निन्दा गर्नुभएको थियो ।
इजरायली सेनाले नागरिकहरूलाई गोली हानेको आरोप अस्वीकार गर्दै उक्त घटनाको अनुसन्धान भइरहेको बताएको छ । इजरायलले आफ्नो सेनाले गाजाका मानिसहरूलाई सहायता सङ्कलन गर्नबाट नरोकेको दावी गरेको छ ।
संयुक्त राष्ट्रसङ्घका मानव अधिकारका प्रमुख भोल्कर टर्कले नागरिकहरूमाथि भएको आक्रमण मानव अधिकारको गम्भीर उल्लङ्घन र युद्ध अपराध भएको उल्लेख गर्नुभएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले निर्दोष गाजावासीहरुले इजरायलको अभूतपूर्व आक्रमणको सामना गरिरहेका बताएको छ ।