काठमाडौँ, २० जेठः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेशका तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले सोडारीले सार्वजनिक पदधारण गरेको विसं २०७४ माघ ७ गतेदेखि विसं २०७९ फागुन १० गतेसम्म अवधिको अनुसन्धान गर्दा वैधानिक आय रु ८५ लाख ५१ हजार ३३४ बराबर रहेको जनाएको छ ।
सो अवधिमा सोडारीले रु एक करोड ९३ लाख ८९ हार ६३६ बराबरको रकम खर्च तथा लगानी गरेको पाइएको आयोगले जनाएको छ । अयोगका अनुसार वैध आय र खर्चको बीचमा तालमेल नमिलेको, रु एक करोड आठ लाख ३८ हजार ३०२ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको हो ।
आयोगले सोडारीले पदीय दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेकाले सो कार्य भ्रष्टाचार भएको ठहर गरेको छ । सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुुनी रूपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती गैता सोडारी र छोरा बबि सोडारीको नाममा जग्गा खरिद, घर निर्माण र बैंक मौज्दातमा राखेको पाइएको छ । आयोगले रु एक करोड आठ लाख ३८ हजार ३०२ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।