जेष्ठ १९, काठमाडौँ — नेकपा एमालेका सांसद सूर्य थापाले नेपाली नोटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्बिर राख्न प्रस्ताव गरेका छन् ।
सोमबार अर्थ समितिको बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको संशोधन विधेयकमाथि छलफल भएको थियो । गभर्नर विश्वनाथ पौडेलसहितको उक्त छलफलमा थापाले यस्तो प्रस्ताव गरेका हुन् । उनले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्नु उचित हुने तर्क गरे ।
पृथ्वीनारायण शाहको तस्बिर नोटमा राखेको खण्डमा इज्जत बढ्ने बताउँदै उनको भनाइ थियो । ‘म राजावादी होइन, गणतन्त्रवादी हो । गणतन्त्र ल्याउन लडेकै हो । तर पृथ्वीनरायण शाहको फोटो नोटमा राख्नुपर्छ,’ उनले भने, ‘नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको फोटो राखे नोटको इज्जतसमेत बढ्छ ।‘
एमाले सासंद थापाले बुद्धको फोटोसमेत नोटमा राख्नुपर्ने र यसले नोटको महत्व बढाउने बताएका थिए ।