१८ जेठ, धनगढी : काठमाडौँमा बालेन्द्र शाह र धरानमा हर्क साम्पाङजस्तै स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए धनगढी उपमहानगरपालिकाका नगरप्रमुख गोपाल हमालले। कांग्रेसको गढ मानिने धनगढीमा ठुला पार्टीसमेतको मोर्चाबन्दीलाई पराजित गर्दै जित हात पार्नु चानचुने कुरा थिएन। पदमा पुगेको छोटो अवधिमै धनगढीमा सुधारका कामहरूको थालनी गर्दै चर्चाको उकालो चढ्न थालेका मेयर हमालले भन्ने गरेको ‘धनगढीको विकास आफ्नो एक मात्र ध्येय’ र उनले सुरु गरेका र कतिपयमा प्राप्त नतिजाहरूले अधिकांश धनगढीवासीलाई विश्वास गर्न करै लाग्ने अवस्था सिर्जना गराएका थिए। धनगढीमा विकासमा अनेक नवीन कामहरूको थालनी गरेर आशा जगाउँदै थिए उनी ।
तर ०८१ मंसिर २१ गते अकस्मात् गम्भीर बिरामी परे । टाउको दुखेर धनगढीस्थित मायामेट्रो अस्पतालमा भर्ना गरिएका उनलाई चिकित्सकहरूले ‘दिमागको पक्षघात’ भएको जानकारी गराउँदै सुविधा सम्पन्न अस्पतालमा रेफर गरेका थिए । त्यसपछि उनलाई भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलमा उपचार गरिएको थियो । दिल्लीमा १६ दिनको सघन उपचारपछि उनी डिस्चार्ज भएर घर फर्किएका थिए । आफ्नो अधिकांश समय नगरकै विकास गतिविधिमा खर्चिँदै आएका नगरप्रमुख हमाल गम्भीर बिरामी परेपछि भने उनको विगतको गतिमा ब्रेक लाग्यो । उनी दैनिक कार्यालयमा उपस्थित हुन सक्ने पनि अवस्थामा पनि छैनन्।
‘डाक्टरहरूले आराम गर्न भनेका छन् । त्यसैले उहाँले खटनपटन हुन खोज्दा स्वास्थ्यमा असर देखिने गर्छ,’ समन्वयकर्ता भट्टले भने, ‘अहिले उहाँले नगरी नहुने र अत्यावश्यक कामहरू घरबाटै गर्ने गर्नु भएको छ ।’ नगरका क्रियाकलापहरू, सूचना, जानकारी, अपिल, गुनासा लगायतका कार्यहरू उनले सामाजिक सञ्जालबाटै प्रवाह गर्ने गरेका छन् ।
नगर प्रमुख हमालले नगरभित्र थिति बसाल्दै थिए । हर काममा आफ्नै प्रत्यक्ष निगरानीमा दैनिक कामकाज गराउँदा प्राप्त हुने कामको नतिजा र अहिले धेरै फरक परेको छ । ‘कर्मचारी प्रशासनदेखि उपमहानगरसँग सम्बन्धित सरोकारवालाहरूमा जुन सतर्कता पहिला हुन्थ्यो त्यो अहिले घट्दै गएको देखिन्छ,’ नगर प्रमुखको सचिवालयका एक जना सहयोगी भन्छन्, ‘कार्यालयमा सबैका लागि विगतमा कायम रहेको कडा अनुशासन पनि नगरप्रमुखको अनुपस्थितिले बिस्तारै खुकुलो हुँदै गए जस्तो देखिन्छ ।’
उनी स्वस्थ भएका बेला दैनिक कार्यालयमा खटिन्थे । दैनिक र साप्ताहिक रूपमा हरेक शाखाहरूका कामकाजको समीक्षा हुने गरेको थियो । अहिले त्यो क्रम क्रमशः घट्दै गएको स्वयम् कर्मचारीहरू सुनाउँछन् । धनगढी उपमहानगर अन्तर्गत २९ वटा शाखा र करिब पाँच सय जना कर्मचारी छन् । हमालको अस्वस्थताले सबै भन्दा ठुलो धक्का त नगरका नयाँ योजना निर्माण र कार्यान्वयनमा परेको छ । हमाल अक्सर धनगढीको विकासका लागि नयाँ योजनाको सिर्जना र दाता निकायसमक्ष आर्थिक स्रोत जुटाउन दौडधुप गरिरहन्थे ।
‘अहिले त्यो ठप्प छ । आफ्नै आन्तरिक स्रोतले नधान्ने भएकाले विभिन्न कार्यक्रमका लागि विभिन्न निकायबाट आर्थिक स्रोतका लागि लबिङ गर्दै विकासका नवीन कार्यक्रमहरू सञ्चालन हुन्थे । अहिले त्यो अवस्था रोकिएको छ,’ सचिवालयका समन्वयकर्ता भट्टले भने । उपमहानगरका सूचना अधिकारी सुरेन्द्र कार्कीले भने यी सन्दर्भहरूमा आफूले कुनै टिप्पणी नगर्ने बताए । आगामी आर्थिक वर्षको योजना निर्माण तथा बजेट बनाउने बेला भइसकेको छ । तर अहिलेसम्म उक्त प्रक्रियाले गति लिन सकेको छैन । ‘मेयर स्वस्थ भएको भए आगामी वर्षका लागि पनि नवीनतम् कार्यक्रमहरूको योजना बन्न सक्थ्यो होला,’ नगरपालिकाका एक कर्मचारीले भने ।
धनगढीमा नगरप्रमुख हमालले आफ्नो प्रत्यक्ष निगरानीमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका थिए । ०७९ साउन महिनादेखि महिनाको एक दिन हरेक वडामा निःशुल्क सञ्चालन गर्दै आएको विशेषज्ञ वडा क्लिनिक विपन्न परिवारका स्थानीय बासिन्दाहरूका लागि वरदान भएको छ । उपमहानगरले गाउँमै विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराएपछि ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई धनगढीसम्म धाउनुपर्ने र ऋणकर्ज गरेर महँगो उपचार सेवा लिन बाध्य हुनुपर्ने बाध्यतामा सहजता गराएको छ । उपमहानगरका स्वास्थ्य शाखाका अनुसार १९ वटै वडामा महिनाको एक दिन वडा क्लिनिक सञ्चालन गर्ने गरिएको छ । जहाँ फिजिसियन, स्त्रीरोग विशेषज्ञ, हाडजोर्नी, आँखा र दन्त रोग विशेषज्ञले सेवा दिने गरेको स्थानीय बासिन्दाहरू बताउँछन् ।
नगरप्रमुख हमालले विपन्न परिवारका लागि दाहसंस्कार खर्चबापत पाँच हजार नगर उपलब्ध गराउने परम्परा बसाए । मृतकको घर परिवारबाट खबर प्राप्त हुनासाथ दुई जना नगर प्रहरी मृतक परिवारको घरमै पुगेर रकम हस्तान्तरण गर्ने कार्यले उपमहानगरप्रति विपन्न समुदायका परिवारहरूको आस्था बढ्यो । साथै नगर क्षेत्रभित्रका हरेक मृतकका परिवारलाई समवेदना प्रकट गर्न नगरप्रमुख हमाल घरघर पुग्थे अहिले उनको अस्वस्थताका कारण त्यो अवस्था छैन । नगर सचिवालयका अनुसार अहिले त उनी धनगढी हुँदा घरमा पनि भेटघाटको घुइँचो लाग्ने भएकाले धनगढी बाहिर गएर आराम गर्ने गरेका छन् । साथै फोन पनि अधिकांश समय अफ गरेर बस्ने गरेका छन् ।
धनगढीले गरेको अर्को अभ्यास सर्पदंश रोकथामको प्रयास पनि नमुना हो । गर्मीयाममा यहाँका बस्तीहरूमा सर्पदंशबाट ज्यान गुमाइरहेका हुन्छन् । उपमहानगरले नगर प्रहरीलाई तालिम दिएर सर्प समातेर उद्धार गर्ने अभियान चलाइरहेको छ । बिहीबारसम्म एक हजार ७५५ वटा सर्पको उद्धार गरिएको उपमहानगरले जनाएको छ ।
नगर प्रमुख हमालले प्राथमिकताका साथ सञ्चालन गरेको अर्को अभियान हो ‘हाम्रो धनगढी हामी बनाउँछौँ’ । जुन अभियानमा धनगढीवासीले उनलाई खुलेर सहयोग गरे । पछिल्लो समय धनगढीमा आगन्तुकहरूको आकर्षणमा परेको विकास भनेको यहाँको ६ लेन सडकको श्रृगारपटार पनि हो, हरित धनगढी हो । उपमहानगरले आफ्नो क्षेत्रभित्र पर्ने गेटादेखि त्रिनगर भन्सारसम्मको क्षेत्रमा फुलका बिरुवा हुर्काएर हरियाली एवं रंगीचंगी बनाएको छ ।