काठमाडौँ, ११ जेठः राष्ट्रिय समाचार समिति (रासस)को तस्बिर प्रदर्शनीले नेपाली हिमालय क्षेत्रको प्राकृतिक सौन्दर्य, जनजीवन, पर्यटकीय दृश्य, वनस्पति तथा सांस्कृतिक विविधताको सजीव रुपलाई दस्ताबेजीकरण गर्न सहयोग पुर्याएको अवलोकनकर्ताले प्रतिक्रिया दिनुभएको छ ।
यस वर्षको गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको तस्बिर प्रदर्शनीको अवलोकन गर्दै वरिष्ठ फोटोपत्रकार मीनरत्न बज्राचार्यले राससले अन्तरराष्ट्रिय अवलोकनकर्तालाई आर्कषण गराउने गरी प्रदर्शनीलाई थप व्यवस्थित र विस्तार गर्न सुझाव दिनुभयो ।
“पूर्वदेखि पश्चिमसम्म फैलिएका पर्वतीय शुङ्खलाका साथै हिमाली जनजीवन र सांस्कृतिक पक्षले नेपाल हिमालयको दृष्टिकोणले महत्त्वपूर्ण र आकर्षक छ, भन्ने कुरालाई उजागर गरेको छ”, उहाँले भन्नुभयो, “राज्यले राससले चालेको कदममा सहकार्य गर्दै अन्तरराष्ट्रिय अवलोकनकर्तालाई पनि आर्कषण गर्ने किसिमले व्यवस्थित गर्दै जानुपर्छ ।”
चौतिस ३४ वर्षदेखि फोटोपत्रकारितामा सक्रिय बज्राचार्यले प्रदर्शनीमा रासससँग आबद्ध फोटोपत्रकार मात्र नभइ अन्य स्वतन्त्र र विशिष्ट व्यक्तिद्वारा खिचिएका तस्बिर समावेश गरिएको भन्दै आभार प्रकट गर्नुभयो ।
“यस प्रदर्शनीले फोटोपत्रकारलाई प्रोत्साहन मिलेको छ । फोटोपत्रकारिताका क्षेत्रमा भविष्य खोज्दै अभ्यास गरिरहेका विद्यार्थीलाई यस्ता प्रदर्शनी अवलोकन गर्न निरन्तर सुझाव दिँदै आएकाले राससद्वारा प्रदर्शित तस्बिरको अवलोकन गर्न आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।
बज्राचार्यले फोटो पत्रकारिताको सामाजिक महत्त्व उल्लेख गर्दै व्यवस्थित दस्ताबेजीकरणसँगै उत्कृष्ट फोटोहरूको सङ्ग्रह गरेर किताबका रूपमा प्रकाशन र वितरण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदर्शनमा राखिएका तस्बिर राससको मात्र नभइ राज्यकै सम्पत्ति भएकाले पुस्तक प्रकाशन तथा प्रचारप्रसार गर्न राज्यले लगानी लगाउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले स्थानीय क्षेत्रका फोटोपत्रकारको क्षमता अभिवृद्धिका लागि तालिम तथा अभिमुखिकरणका कार्यक्रमको आवश्यकता औँल्याउनुभयो । देशको भौगोलिक, जातीय, भाषिक तथा पर्यावरणीय विविधताले भरिपूर्ण हिमाली क्षेत्रमा पर्यटकीय सम्भावना उजार गर्न फोटोपत्रकारले प्रविधिको समयसापेक्ष प्रयोग गर्दै जानुपर्ने भएको उल्लेख गर्नुभयो ।
भद्रकाली प्जालास्थित रासस केन्द्रीय कार्यालयमा ‘पर्वतीय पर्यटनः हाम्रो शान हाम्रो, पहिचान’ शीर्षकमा आयाजना गरिएको प्रदर्शनीमा हिन्दूकुश हिमशृङ्लका हिमाल, हिमाली र पहाडी जनजीवन तथा देशका प्रमुख पर्यटकीयस्थलका ९६ वटा तस्बिर समेटिएका छन ।