बैंकक, १० जेठ : राजतन्त्रको आलोचना गरेको आरोपमा जेल परेका थाइल्यान्डका एक वकिल अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक सुधारका लागि गरेको प्रयासको कदरस्वरूप अन्तर्राष्ट्रिय मानवअधिकार पुरस्कारबाट सम्मानित हुनुभएको हो । यस वर्ष जोखिममा रहेका मानव अधिकार रक्षकहरूका लागि ‘फ्रन्टलाइन डिफेन्डर्स पुरस्कार’ एसिया–प्यासिफिक क्षेत्रका ४० वर्षीय अर्नोन नाम्पालाई दिने निर्णय गरिएको पुरस्कार निर्णायक समितिले जनाएको छ ।
थाइल्याण्डको कडा लेसे–माजेस्टे कानूनअन्तर्गत राजसंस्थाको आलोचना र अन्य अपराधमा दोषी ठहर भएपछि उहाँलाई २२ वर्षको जेल सजाय भएको र यसका लागि जेल जीवन बिताइरहनुभएको छ ।
‘थाई लयर्स फर ह्युमन राइट्स (टीएलएचआर)’ ले एक विज्ञप्ति जारी गर्दै अर्नोनले आफ्नो व्यक्तिगत सुरक्षाका लागि खतरा र गम्भीर जोखिमको सामना गर्नुपरे पनि मानव अधिकारको प्रवद्र्धन र संरक्षणमा खेलेको भूमिकाका लागि उहाँलाई सम्मान गरिएको जनाएको छ ।
आयरल्याण्डस्थित सङ्गठनले हरेक वर्ष प्रदान गर्दै आएको ‘फ्रन्ट लाइन डिफेन्डर्स अवार्ड’ले खतरामा परेका विश्वभरका अभियन्ताहरूको कामलाई उजागर गर्दछ। डब्लिनमा आयोजित पुरस्कार समारोहमा आफ्नो परिवारका एक सदस्यले पढेर सुनाएको पत्रमा अर्नोनले यसलाई ‘गहिरो सम्मान’ भन्नुभएको छ । उहाँले पुरस्काले आफुलाई ‘भविष्यको बाटोको लागि शक्ति’ प्रदान गरेको बताउनुभयो । उहाँले आफ्नो अभियान थाइल्याण्डको राजनीतिक दमनलाई असहमतिको दमनद्वारा चिह्नित ‘पुरानो व्यवस्था’ विरुद्धको एक पुस्तागत लडाईको रूपमा वर्णन गर्नुभयो ।
सन् २०२० मा थाइल्याण्डमा भएको युवा नेतृत्वको प्रजातन्त्र समर्थक प्रदर्शनका क्रममा अर्नोनले सार्वजनिक रूपमा राजसंस्था र सेनासमर्थित सरकारको सुधारका लागि आह्वान गर्नुभएको थियो । उहाँ निषेधित भाषण र अनलाइन पोस्टहरूका लागि दण्ड संहिता (लेस माजेस्टे) को धारा ११२ अन्तर्गत दोषी ठहराइनुभएको छ । यो धाराले प्रत्येक अपराधमा कम्तीमा १५ वर्षसम्मको जेल सजायको व्यवस्था गर्दछ।
टीएलएचआरका अनुसार उहाँको कुल जेल सजाय अहिले २२ वर्षको छ र उहाँ सेप्टेम्बर २०२३ देखि जेलजीवन बिताइरहनुभएको छ । सन् २०२४ मा मात्रै उहाँले कम्तीमा ४१ वटा जमानतका लागि निवेदन दिनुभएको थियो ।
एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचलगायतका अधिकारवादी समूहले अर्नोनलाई थुनामा राखिएको घटनाको निन्दा गर्दै उहाँको रिहाइको माग गरेका छन् ।