मोरङ, २९ वैशाखः जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले जनताले ठूलो त्यागबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पार्टीको प्रथम जिल्ला अधिवेशनको आज विराटनगरमा उद्घाटन गर्दै उहाँले ठूलो सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, नागरिकको मौलिक हकलाई संस्थागत गर्नु आजको आवश्यक्ता भएको प्रष्ट पार्नुभयो ।
पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका यादवले मुलुकमा भ्रष्टाचार, कमिशनतन्त्र, विचौलियाको चलखेल नियन्त्रण गरी सुशासन कायम गर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पार्टीले संविधान संशोधन गर्ने स्पष्ट धारणाअनुसार मुलुकमा राजनीतिक स्थिरता कायम गर्न पूर्णसमानुपातिक निर्वाचन प्रणाली लागु गर्न सुझाव दिनुभयो ।
पार्टीका सहअध्यक्ष रकम चेम्जोङले बितेर गएको राजतन्त्र पुनःफर्केर नआउने बताउनुभयो । पार्टीका महासचिव रेखा यादव, केन्द्रीय सदस्य एवं पूर्वमन्त्री जयराम यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको उल्लेख गर्नुभयो ।
पार्टीका जिल्ला अध्यक्ष राजकुमार यादव, नेपाली कांग्रेका प्रदेश कोषाध्यक्ष राजेश गुप्तालगायतले लोकतान्त्रिक व्यवस्थाको विकल्प निरङ्कुश शासन व्यवस्था नहुने धारणा राख्नुभयो । अधिवेशनले आजै जिल्ला नेतृत्व चयन गर्ने छ ।