काठमाडौँ, २१ वैशाखः राष्ट्रियसभाका सदस्यहरुले भारतको उडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलजी (केआइआइटी) मा विद्यार्थी पठाउन बन्द गर्नुपर्ने भएको छ । साथै उहाँहरु त्यहाँ जान चाहने विद्यार्थीलाई ‘नो अब्जेक्सन लेटर (एनओसी)’ दिन नहुनेमा जोड दिनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरुले केआइआइटीमा विद्यार्थी असुरक्षित भएका, एकपछि अर्को छात्राको शृङ्खलाबद्ध मृत्युले विद्यार्थीको सुरक्षाको प्रत्याभूति नभएको भन्दै एनओसी रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले सरकारले उक्त कलेजका लागि एनओसी दिने प्रक्रिया रोक्नुपर्ने बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)का सांसद मदनकुमारी साहले केआइआइटीका लागि एनओसी रोक्न माग गर्दै अभिभावकलाई पनि सचेत हुन आग्रह गर्नुभयो ।
आकस्मिक समयमा जनता समाजवादी पार्टी नेपालका मोहम्मद खालिद, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका शेखरकुमार सिंह र नेपाली कांग्रेसका कृष्णबहादुर रोकायले केआइआइटीमा नेपाली विद्यार्थीको मृत्युबारे छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले निरन्तर पहल गर्नुपर्ने माग गर्नुभयो ।
घटनाको छानबिन र दोषीमाथि कारबाहीको माग गर्नेहरुमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का गङ्गाकुमारी बेल्वासे र नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सुमित्रा विसी हुनुहुन्थ्यो ।