04/30/2025, 20:18:26

गण्डकी प्रदेशमा बजेटको तयारी


गण्डकी, १७ वैशाखः गण्डकी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट निर्माणका लागि तयारी थालेको छ ।

बजेट तर्जुमा र समन्वयका विषयमा स्थानीय तहहरुसँग पूर्वतयारी छलफल भइरहेको मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका प्रमुख डिल्लीराम रिज्यालले जानकारी दिनुभयो । नवलपुर र तनहुँमा बजेट पूर्वतयारी छलफल भइसकेको उहाँको भनाइ छ ।

“निजी क्षेत्रका उद्योगी, व्यवसायी र अर्थ विज्ञसँग पनि बजेट निर्माणबारे छलफल भइरहेको छ”, महाशाखा प्रमुख रिज्यालले भन्नुभयो, “आगामी जेठ १ देखि ११ गतेसम्म विषयगत मन्त्रालयसँग छलफल गर्दैछौँ ।” बजेट निर्माणमा सम्बन्धित निकाय र सरोकार भएका पक्षहरुको अपेक्षा र रायसुझाव लिइएको उहाँले बताउनुभयो ।

छलफलका क्रममा स्थानीय तहहरुले बजेट समावेशी र प्रभावकारी बनाउन सुझाव दिएको उहाँको भनाइ छ । “बजेट निर्माणको प्रक्रियालाई सहभागितामूलक बनाउन पूर्वतयारी छलफलले मन्त्रालयलाई महत्वपूर्ण सहयोग पुगेको छ”, उहाँले भन्नुभयो ।

चालु आवको तुलनामा आगामी आवको बजेटको आकार घट्ने देखिएको उहाँको भनाइ छ । समानीकरण अनुदानमा भएको कटौती र राजश्व खुम्चँदा बजेट घट्ने भएको हो । चालु आवमा प्रदेश सरकारले रु ३२ अर्ब ९७ करोडको बजेट ल्याएको थियो । आगामी आवका लागि रु २९ अर्ब ५० करोड बराबरको बजेट ‘सिलिङ’ तोकिएको महाशाखा प्रमुख रिज्यालले जानकारी दिनुभयो । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ