04/26/2025, 16:51:33

टिकटकले हटायो ९ महिनामै नेपालका ३१ लाख भिडियो


१३ वैशाख, काठमाडौं : टिकटकले गत वर्षको अप्रिलदेखि डिसेम्बर (९ महिना) मा नेपालका ३१ लाख भिडियो हटाएको छ । सामाजिक रूपमा अपाच्य भएको अर्थात् ‘कम्युनिटी गाइडलाइन्स’ पूरा नगरेको स्विकार्दै ९ महिनामै टिकटकले नेपालका ३१ लाख ३१ हजार ८४ वटा भिडियो हटाएको हो ।

सन् २०२४ को तेस्रो त्रैमास (जुलाई, अगस्ट र सेप्टेम्बर) मा ९ लाख ७५ हजार ६ सय ७७ र चौथो त्रैमास (अक्टोबर, नोभेम्बर र डिसेम्बरमा) नेपालबाट १४ लाख ७६ हजार ८ सय ६२ वटा भिडियो हटाइएको कम्पनीले आफ्नो ‘कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट’ मा उल्लेख गरेको छ । त्यसअघि सन् २०२३ नोभेम्बर (२०८० कात्तिक) देखि सन् २०२४ अगस्ट (२०८१ भदौ) सम्म नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो । प्रतिबन्ध लगाएको अवधिमा पनि प्लाटफर्मबाट थुप्रै भिडियो हटाइएको देखिन्छ । अर्थात् प्रतिबन्ध खुल्नुअघिको त्रैमास (सन् २०२४ को अप्रिल, जुन र जुलाई) मा ६ लाख ७८ हजार ५ सय ४५ भिडियो हटाइएको थियो ।

यसले नेपालमा टिकटकका प्रयोगकर्तालाई सुरक्षित र मर्यादित डिजिटल वातावरण उपलब्ध गराउने दाबी दक्षिण एसियाली मामिला हेर्ने टिकटकका एक प्रतिनिधिले बताएका छन् । प्रतिनिधिलेले भनेका छन्, ‘नेपालमा प्रतिबन्ध हटेपछि कम्पनीले सरकार र नियामक निकायसँग नियमित सहकार्य गर्दै पारदर्शी प्रक्रिया अपनाइरहेको छ, नेपालमा टिकटक सुरक्षित र विश्वासिलो प्लाटफर्म होस् भन्ने अपेक्षासहित हामीले सरकारी निकाय र सरोकारवालासँग नियमित रूपमा सहकार्य गरिरहेका छौं ।’  उनले ‘कन्टेन्ट मोडरेसन’, अनलाइन सुरक्षा, डेटा सुरक्षा र प्रयोगकर्ताका लागि सुखद अनुभव सिर्जना गर्नेजस्ता प्रमुख विषयमा नेपालका सरकारी अधिकारीसँग सक्रिय सहकार्य गर्दै आएको बताएका छन् । चिनियाँ सामाजिक सञ्जाल एप टिकटकमाथिको प्रतिबन्ध हटाउने क्रममा २०८१ भदौमा सरकारले विभिन्न सर्त अघि सारेको थियो । त्यसमा टिकटक नेपालमा अनिवार्य सूचीकृत हुनुपर्ने, देशभर इन्टरनेट सुरक्षा, डिजिटल साक्षरता, नेपालको पर्यटन प्रवर्द्धन र शिक्षण संस्थामा शैक्षिक गुणस्तर सुधारमा सहकार्य र विशेषतः ‘कन्टेन्ट फिल्टरिङ’ एवं ‘मोडरेसन’ लाई प्रभावकारी बनाउनुपर्ने उल्लेख थियो ।

प्लाटफर्महरूलाई नेपाली भाषा र अन्य राष्ट्रभाषाको स्रोत पहिचान गरेर ‘कन्टेन्ट मोडरेसन’ गर्न निर्देशन दिँदा वैध अभिव्यक्ति पनि बन्देजमा पर्न सक्ने जोखिम हुने आशंका डिजिटल अधिकारकर्मीहरूको थियो । सामाजिक सञ्जाल प्लाटफर्महरूलाई सफ्टवेयरको प्रयोग गरी ‘कन्टेन्ट फिल्टरिङ’ र ‘मोडरेसन’ लाई प्रभावकारी बनाउन निर्देशन दिनु ‘प्रि–सेन्सरसिप’ हुने र यस्तो प्रयास असंवैधानिक भएको उनीहरूको राय थियो ।

प्लाटफर्मबाट सामग्री हटाउने विषयमा नेपाल सरकारबाट के–कस्ता अनुरोध आउने गरेका छन् भन्ने प्रश्नमा टिकटकले सरकारी अनुरोधलाई गम्भीरतापूर्वक लिने र प्रत्येक सामग्रीलाई ‘कम्युनिटी गाइडलाइन्स’, ‘टर्म्स अफ सर्भिस’ र स्थानीय कानुनी मापदण्डका आधारमा समीक्षा गर्ने प्रतिक्रिया दिएको छ ।

कुनै कन्टेन्टले हाम्रो कम्युनिटी गाइडलाइन्स उल्लंघन नगरे पनि स्थानीय कानुनअनुसार अवैध मानिन्छ भने हामी त्यस्ता कन्टेन्टलाई नेपालभित्र प्रतिबन्धित गर्न सक्छौं,’ टिकटकका प्रतिनिधिले भने, ‘कन्टेन्ट रिमुभलका लागि सरकारले नै पठाएको अनुरोध भए पनि त्यो कन्टेन्ट कानुनअनुसार अवैध छैन र हाम्रो मापदण्ड उल्लंघन गर्दैन भने हामी त्यस्ता कन्टेन्ट हटाउँदैनौं ।

टिकटक आफैंमा विश्वव्यापी प्लाटफर्म भए पनि यसले स्थानीय कानुन र मापदण्ड पालना गर्ने र स्थानीय सरोकारवालासँग सहकार्य गरेर मात्रै कार्य गर्ने ती प्रतिनिधिको दाबी छ । नेपालसहित आफ्ना सबै बजारहरूमा टिकटकले विश्वासिलो साझेदार बन्ने प्रयासस्वरूप पारदर्शिता र संवादलाई निरन्तरता दिइरहेको उनले उल्लेख गरेका छन् । कम्पनीले विश्वभर १ अर्ब प्रयोगकर्ताका लागि सुरक्षित र मर्यादित ‘डिजिटल स्पेस’को प्रत्याभूतिका लागि विभिन्न पहल गर्दै आएको पनि उनले बताए ।

टिकटक सूचीकृत भइसकेपछि यसले सरकारलाई अनुसन्धान, ‘कन्टेन्ट मोडरेसन’, पर्यटन प्रवर्द्धनलगायतमा सहयोग पुर्‍याइरहेको सञ्चार मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले जनाए । ‘सरकारले अनुरोध गरेलगत्तै सामग्री हटाउने प्रक्रियामा टिकटकले सहजीकरण गरेको छ । कम्पनीले नेपालमै प्रतिनिधि राखेर भिडियोहरू रिभ्यु गरिरहेको छ,’ ठाकुरले भने, ‘करिब ६ प्रतिशत कन्टेन्ट सरकारको अनुरोधमा हटाइएको छ भने बाँकी उनीहरू आफैंले प्रोएक्टिभ्ली हटाइरहेका छन् ।

टिकटकको ‘कम्युनिटी गाइडलाइन्स’ मै प्लाटफर्ममा के कुरा गर्न पाइन्छ र के पाइँदैन भन्नेबारे स्पष्ट रूपमा उल्लेख गरिएको भन्दै टिकटक प्रतिनिधिले सोही ‘गाइडलाइन’ सबै प्रयोगकर्ता र सामग्रीहरूमा समान रूपमा लागू हुने बताए । प्लाटफर्मलाई सुरक्षित राख्न उन्नत ‘मोडरेसन’ प्रविधिसँगै हजारौं ‘ट्रस्ट एन्ड सेफ्टी प्रोफेसनल’ खटाएको उनले जनाए । ‘नेपालमा टिकटक प्रयोगकर्ता बढ्दै जाँदा हाम्रो जिम्मेवारी पनि बढेको महसुस गरेका छौं,’ उनी भन्छन्, ‘त्यसकारण हामीले नेपालका लागि विशेष रूपमा स्थानीय विज्ञता, सांस्कृतिक सन्दर्भ र क्षेत्रीयस्तरको सुझबुझ भएका ट्रस्ट एन्ड सेफ्टी प्रतिनिधिहरू नियुक्त गरिरहेका छौं ।

टिकटकको आफ्नै कम्युनिटी गाइडलाइन्स

सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्तालाई आफ्ना प्लाटफर्म प्रयोग गर्दा पालना गर्नुपर्ने मापदण्ड समावेश गरेर ‘कम्युनिटी गाइडलाइन्स’ र ‘टर्म्स अफ सर्भिस’ (सेवा शर्त) जस्ता दस्ताबेज बनाएका हुन्छन् । टिकटकको कम्युनिटी गाइडलाइन्सले लागूऔषध, हतियार, मानव तस्करीजस्ता गैरकानुनी क्रियाकलापको प्रचार गर्न निषेध गरेको छ । चुनावी परिमाण प्रभावित गर्न सक्ने सामग्रीलाई पनि प्रतिबन्ध गरिएको छ । हत्या, आत्महत्या, आतंकवाद वा हिंसात्मक क्रियाकलापको समर्थन गर्ने सामग्री ‘पोस्ट’ पर्न पाइँदैन ।

यसमा यौनजन्य वा अश्लील सामग्री, बाल शोषण, घृणात्मक अभिव्यक्ति र मिथ्या सूचना फैलाउनेजस्ता सामग्रीलाई निषेध गरिएको छ । टिकटकको टर्म्स अफ सर्भिसले प्लाटफर्म प्रयोग गर्न कानुनी योग्यता (उमेर हद), प्रयोगकर्ताको दायित्व, बौद्धिक सम्पत्तिको हक र टिकटकका अधिकार र सीमाहरू निर्धारण गरेको छ । प्रयोगकर्ताले आफ्नो खाताबाट पोस्ट भएका सम्पूर्ण सामग्रीको जिम्मेवारी लिनुपर्ने, अर्काको सामग्री अनधिकृत रूपमा प्रयोग गर्न नहुने र टिकटकमा पोस्ट भएका सामग्री कम्पनीलाई प्रयोगको अनुमति दिने सर्त समावेश छन् । यसमा कम्पनीका नियम उल्लंघन भएमा टिकटकले खाता निलम्बन गर्न वा सामग्री हटाउन सक्ने प्रावधान पनि राखिएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ