04/19/2025, 16:47:08

गीत ‘सम्झना बिर्सना सललल’ को रिमेकमा पपस्टार राजु लामा


काठमाडौँ, ५ वैशाख : पपस्टार राजु लामाले नेपाली फिल्मको गीतमा स्वर दिएका छन् । अशोक शर्माको आगामी निर्देशकीय कथानक फिल्म ‘डबल ट्रिपल’को लागि उनले बिहीबार एक स्टुडियोमा गीत रेकर्ड गराए ।

पपसंगीतका यी हस्ती लामो समयपछि फिल्म गायनमा पुनरागमन गरेका हुन् । यसअघि उनले सन् २००० मा फिल्म ‘आगो’ को लागि सचिन सिंहको संगीतमा गीत गाएका थिए । ‘मंगोलियन हार्ट’ सांगीतिक समूहका मुख्य गायकले ‘भ्वाइस अफ नेपाल’ सिजन ६ को ब्यस्तताबीच फिल्ममा स्वर दिएका हुन् ।

३ दशकअघि रिलिज भएको फिल्म ‘ट्रक ड्राइभर’को गीत ‘सम्झना बिर्सना सललल’लाई रिमेक गर्न लागिएको हो । रिमेक संस्करणमा लामा र रचना रिमालको स्वर हुनेछ । यसअघि शम्भुजीत बासकोटा शब्द तथा संगीत रहेको गीतमा उदितनारायण झा र दीपा झाको स्वर थियो ।

अहिले पनि बासकोटाकै संगीत छ । त्यो गीत सुपरहिट भएकाले पनि दर्शकको चाहनालाई मध्यनजर गर्दै मर्म नमरोस् भन्नेमा सजग रहँदै संगीतकार बासकोटालाई पुनः संगीत संयोजन र निर्माणको जिम्मेवारी दिएको निर्माता शर्माले बताए ।

फिल्मको छायांकन बैशाखदेखि हुने तयारी छ । २०८२ सालको फागुन १ देखि प्रदर्शनमा आउने फिल्ममा दयाहाङ राई, खगेन्द्र लामिछाने, मिरुना मगर, केकी अधिकारी, राजाराम पौडेल लगायतको अभिनय हुनेछ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ