07/08/2025, 20:20:21

सदर चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन हुने


काठमाडौँ, २८ चैतः जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ ।

Subscribe to Blog via Email

Enter your email address to subscribe to this blog and receive notifications of new posts by email.

चिडियाखानाद्वारा आज यहाँ आयोजित कार्यक्रममा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जनताको मागअनुसार आगामी वैशाख १ गतेदेखि चिडियाखाना बेलुका ८ बजेसम्म सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “त्यसका लागि राष्ट्रिय प्रकृति संरक्षण कोषको बोर्डबाट निर्णय गरी आवश्यक तयारी र प्रक्रिया अघि बढिसकेको छ ।” चिडियाखाना हाल विहान १० बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने गरेको छ ।

चिडियाखानाभित्र रहेको फल्चा र शिशु स्तनपान कक्षको उद्घाटन गर्दै मन्त्री शाहीले चिडियाखाना परिसरलाई प्रकृति र वन्यजन्तुका साथै संस्कृति र परम्परासँग जोड्नु सकारात्मक पक्ष भएको उल्लेख गर्नुभयो । उहाँले यो चिडियाखाना साँघुरो भएकाले विस्तारका लागि सूर्यविनायकमा खुला चिडियाखानाको प्रावधानअनुसार आवश्यक काम भइरहेको बताउनुभयो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सदर चिडियाखाना ललितपुरको गहना भएको बताउँदै यसको सम्बर्द्धनमा सबैलाई हातेमालो गर्न आग्रह गर्नुभयो । साथै उहाँले आफू प्रमुख भएपछि ललितपुरमा अतिक्रमणमा परेका, मासिएका, पुरिएका, सांस्कृतिक सम्पदाको पुनःरुत्थान र संरक्षणमा केन्द्रित भएको जानकारी गराउनुभयो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले चिडियाखाना थप दुर्लभ वन्यजन्तु स्वदेश तथा विदेशबाट ल्याउने तयारी भइरहेको र त्यसमा विभागले आवश्यक समन्वय गरिरहेको बताउनुभयो ।

कोषका सदस्य सचिव डा नरेश सुवेदीले प्रकृति र संस्कृतिलाई सँगै जोड्ने उदेश्यले चिडियाखानाभित्र रहेको स्थानीय समुदायको कुल देवताको मन्दिर र फल्चाको निर्माण गरिएको बताउनुभयो । उहाँले सेवाग्राहीको चाहनाअनुसार चिडियाखानामा सिंह र जेब्रा ल्याउनका लागि पहल भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा सदर चिडियाखानाका प्रमुख सत्यनारायण साह, ललिपुर महानगरपालिका–४ का अध्यक्ष सन्तोष खडका र स्थानीय गुठीका अध्यक्ष राजेन्द्र महर्जनले कुल देवताको मन्दिर र फल्चाको निर्माणले चिडियाखानाको संरक्षण र संबर्द्धनमा स्थानीयको अपनत्व थपिने उल्लेख गर्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading