04/17/2025, 07:55:21

उपयुक्त समयमा संविधान संशोधन हुन्छ, समिति बनाएर काम गर्छाैंः प्रधानमन्त्री


जनकपुर, २६ चैतः प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न राजनीतिक समितिका साथ काम गरिने बताउनुभएको छ ।

मधेस प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन हुने स्पष्ट गर्नुभयो । “सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न उपयुक्त समयमा संविधान संशोधन गर्छाैँ । त्यसका लागि एउटा नेकपा (एमाले) र नेपाली कांग्रेसको यो संयुक्त सरकारबाट राजनीतिक समिति बनाउँछौँ । तर ‘प्याण्डोरा’को बाकस खोलेजस्तो गर्दैनौँ ।

प्रगितमनका लागि ढोका खोल्न संविधान संशोधन गर्दैनौँ ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “राजतन्त्र फेरि ल्याउने भनेर केही लागेका छन् । विगतमा निरङ्कुश राजतन्त्रको कुशासन नदेखेका नयाँ पुस्तालाई भ्रममा पार्न खोजेका छन् । हामीले नयाँ पुस्तालाई सचेत बनाउनुपर्छ । आजको सचेत समाजले त्यस्तो सामन्ती व्यवस्था स्वीकार्न सक्दैन । गणतन्त्र यस देशको वर्तमान र भविष्य हो । प्रतिपक्षी पनि विद्यमान व्यवस्थाको पक्षमा रहनु खुसीको कुरा हो ।”

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको सङ्घर्षको जगमा ल्याइएकाले यस व्यवस्थालाई सुव्यवस्थित एवं सुदृढ बनाउनु सबैको कर्तव्य भएको उल्लेख गर्नुभयो । “यो श्रेष्ठ प्रणाली हो, हामीले यसको रक्षा गर्नुपर्छ । अभ्यासमा आएको लामो समय नभएकाले यो व्यवस्थामा केही कमजोरी भए होलान् तर सुधार गरेर जानुको विकल्प छैन ।”, उहाँले भन्नुभयो, “ अब हामी द्रुत गतिमा अघि बढेका छौँ । यस प्रणालीअन्तर्गत सांसदको सपथ लिने अनि बाहिर गएर संविधान मान्दिन भन्ने अभिव्यक्ति दिनु हुँदैन ।”

प्रधानमन्त्री ओलीले अनावश्यक हल्ला चलाइएको भए पनि भारत र चीनसँगको सम्बन्ध समुधुर रहेको बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ