04/02/2025, 03:09:24

१५ दिनदेखि निर्माण ठप्प नागढुंगा सुरुङमार्ग खुलाउन सरकार उदासीन


काठमाडौँ, १८ चैतः  नागढुंगा–सिस्नेखोला सुरुङमार्गको निर्माण १५ दिनदेखि ठप्प छ । निर्माणको काम अन्तिम चरणमा रहेका बेला स्थानीयको अवरोधले काम ठप्प बनेको हो । स्थानीयले पुरानै माग दोहोर्‍याउँदै काम रोकिरहेका छन् ।स्थानीयले पूरा भइसकेका माग व्यवस्थित गर्नुपर्ने भन्दै यही चैत ३ देखि काम गर्न दिएका छैनन् । अहिले काठमाडौं र धादिङ दुवैतर्फ काम रोकिएको छ ।

निर्माण अन्तिम चरणमा पुगेका बेला काम अवरुद्ध हुँदा परियोजना सम्पन्न हुने समय अनिश्चित बन्दै गएको छ । काम रोकिएको दुई साता बित्दा पनि न यसको समाधानमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तदारुकता देखाएको छ न सडक विभागले नै ।

पटक–पटक स्थानीयले निर्माणमा अवरोध गर्दा पनि मन्त्रालयले तत्कालको समाधानका लागि पहल गर्ने गरेको पाइएको छैन । यसअघि पनि महिना दिनसम्म काम रोकिँदा सम्बद्ध निकाय उदासीन बनेको थियो । अहिले बन्द भएकै दिनको ठेक्का लिने निकायले हिसाब–किताब गरे सरकारले दैनिक करिब ५० लाखका दरले क्षतिपूर्ति तिर्नुपर्नेछ । अर्थात् १५ दिनसम्मको हिसाब गर्दा ७ करोड ५० लाख रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

अझै समस्या समाधान गरेर निर्माणको काम थाल्न नसके सरकारले निर्माण व्यवसायीलाई ठूलो रकम क्षतिपूर्ति दिनुपर्ने जोखिम रहेको पूर्वसचिव अर्जुनजंग थापाले बताए । ‘यसको समाधानमा राज्य संयन्त्र त्यति दरो तरिकाले लागेको देखिन्न, यसअघि पनि निर्माणमा पटक–पटक अवरोध हुँदै आए पनि तत्काल समाधान गरेर काम थाल्नेमा कसैको पहल हुँदैन,’ उनले भने, ‘जसले गर्दा निर्माणमा ढिलाइ हुने गरेको छ ।

छिटोछिटो आयोजना प्रमुख फेरिरहँदा पनि तत्काल आयोजनामा देखिने समस्या समाधान गर्न कठिन हुने गरेको थापाको भनाइ छ । अहिले आयोजना प्रमुखविहीन छ । सूर्यविनायक–धुलिखेल सडक आयोजनामा आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाको सरुवा भएपछि नागढुंगा–सुरुङमार्ग निर्माण आयोजना प्रमुखविहीन बनेको हो ।

समस्या समाधान गर्न आयोजना लागिरहे पनि स्थानीयले आफ्नो अडान नछाडेको नागढुंगा–सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले बताए । ‘वार्ताका लागि पत्र पठाएर बोलाए पनि स्थानीय आएका छैनन्,’ उनले भने, ‘स्थानीयका माग पूरा गर्ने सम्बन्धमा आयोजनाले विभागमा पठाइसकेको छ ।

आउँदो २०८२ असोजभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी काम भइरहेको थियो । यसरी काम रोकिँदा तोकिएको समयमा सक्न कठिन हुने पन्थीको भनाइ छ । अहिले सुरुङभित्र लाइटिङ, भेन्टिलेसन, कंक्रिट सडक निर्माणलगायत काम अन्तिम चरणमा छन् । बलम्बुस्थित किसिपिडी क्षेत्रमा निर्माणको अन्तिम चरणमा रहेको फ्लाइओभरको काम पनि रोकिएको छ ।

चन्द्रागिरि नगरपालिका–२ टुटीपाखाका स्थानीयले परियोजनामार्फत भइरहेका तथा चालु रहेका कार्यक्रम या परियोजनाबाटै निरन्तर सञ्चालन गर्नुपर्ने वा सडक विभागमार्फत सञ्चालन गरिनुपर्ने माग अघि सारेका छन् ।

स्थानीयले सुरुङ निर्माणमा अवरोध गरेको यो पहिलो घटना भने होइन । निर्माण सुरु भएदेखि धादिङ र काठमाडौं दुवै जिल्लाका स्थानीयले पटक काममा अवरोध गर्दै आएका छन् । आयोजना सकिएपछि पनि निःशुल्क खानेपानीको व्यवस्था गर्नुपर्ने, चर्किएका घरको उचित क्षतिपूर्ति दिनुपर्ने, योग्यता र क्षमताका आधारमा प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको ग्यारेन्टी गर्नुपर्नेलगायत माग राख्दै स्थानीयले काममा अवरोध गरेका हुन् ।

२०७६ कात्तिक ४ मा सुरु भएको सुरुङमार्गको भौतिक प्रगति ८७ प्रतिशत पुगेको छ । आपत्कालीन सुरुङको दूरी २,५५७ मिटर छ भने मुख्य सुरुङ २,६८८ मिटर लामो छ । हाल नागढुंगा सडक खण्ड भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । परियोजनाको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ छ, जसमा जापानको साढे १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ