04/01/2025, 23:54:17

कैलालीमा भारतीय तीर्थयात्री बोकेको ट्र्याक्टर दुर्घटना, एकको मृत्यु, २७ घाइते


धनगढी, १७ फागुन : कैलालीमा भारतीय तीर्थयात्री बोकेको ट्र्याक्टर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको र २७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भारतको लखिमपुर खिरी सिंगाबाट कैलालीमा रहेको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा तीर्थाटन गरेर फर्किंदै गरेका तीर्थयात्रीहरु शनिबार कैलारी गाउँपालिका–५ मनिकापुरमा उनीहरु चढेको ट्र्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा भारतको लखिमपुर खिरीका ११ वर्षीय आयुष बर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराज जोशीले बताएका छन् ।

घाइते अवस्थामा सेती प्रादेशिक अस्पताल पुर्‍याइएका बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा अन्य २७ जना घाइते भएका प्रहरीले जनाएको छ । तीमध्ये १२ जनाको सेती प्रादेशिक अस्पतालमा र १५ जनाको उपचार धनगढीकै निसर्ग अस्पतालमा भइरहेको छ । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

दुर्घटनाको कारण अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ