03/31/2025, 00:57:07

राष्ट्र बैंकले स्थापना गर्‍यो ‘डिजिटल फाइनान्स इन्नोभेसन हब’


काठमाडौँ, १४ चैत्रः नेपाल राष्ट्र बैंकले ‘डिजिटल फाइनान्स इन्नोभेशन हब’ स्थापना गरेको छ । बैंकिङ तथा भुक्तानी प्रणालीमा नवीनतम प्रविधि अपनाउँदै वित्तीय सेवा प्रवर्द्धन गर्न यस्तो हब स्थापना गरिएको राष्ट्र बैंकले बिहीबार जारी सूचनामा उल्लेख गरेको छ ।

राष्ट्र बैंकका अनुसार नयाँ प्रविधिहरूलाई विश्वसनीय नीति र नियमनका आधारमा कार्यान्वयन गर्न तथा वित्तीय क्षेत्रका नवीन योजनाहरूलाई व्यवस्थितरूपमा अगाडि बढाउन यो हब स्थापित गरिएको हो । बैंकिङ तथा भुक्तानी प्रणालीका क्षेत्रमा आधुनिक प्रविधिमा आधारित वित्तीय सेवा विकास गर्ने सन्दर्भमा यस क्षेत्रमा कार्य गर्ने वित्तीय नवप्रवर्तकहरुलाई विद्यमान नीतिगत एव‌ं नियामकीय व्यवस्थाबारे जानकारी गराउन हब स्थापना गरिएको उल्लेख छ ।

सरोकारवालाबाट प्राप्त हुने वित्तीय क्षेत्रका नवप्रवर्तनकारी प्रस्ताव र तिनले ल्याउन सक्ने अवसर एव‌ं चुनौतीको विश्लेषण गर्दै नियामकीय दृष्टिकोण, नन-बाइन्डिङ गाइडलाइन्स, परामर्श एवं सुझाव प्रदान गर्ने र नियामकसँगको सहज पहुँच विस्तार गरी नवप्रवर्तनलाई थप उत्प्रेरित गर्ने उद्देश्य राखिएको छ ।

अन्य नियामक तथा सरोकारवाला निकाय र निजी क्षेत्रको समेत सहभागिता हुन सक्ने व्यवस्थासहित यस बैंकमा डिजिटल फाइनान्स इन्नोभेसन हब स्थापना भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’ सूचनामा भनिएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ