03/31/2025, 07:09:06

नर्सरी व्यवसायबाट जीविकोपार्जन


कैलाली, १२ चैतः जिल्लाको धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका युवा व्यवसायी सुरेश विश्वकर्माले लामो समयदेखि नर्सरी व्यवसाय गर्दै आउनुभएको छ । उहँँले यो व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आउनुभएको हो ।

केही समय पहिले विश्वकर्माले काठमाडाैँमा बिरुवासम्बन्धी काम गर्दै आएको एउटा कम्पनीमा जागिर गरी कामको अनुभव लिएर नर्सरी व्यवसाय सुरु गर्नुभएको हो । उहाँले वार्षिक रु एक लाख ५० हजार तिर्ने गरी चार कट्ठा जमिन भाडामा लिइ व्यवसाय गर्दै आउनुभएको छ । हालसम्म रु ५० लाख लगानी भएको बताउँदै उहाँले यो व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आएको जानकारी दिनुभयो ।

उहाँको परिवारमा श्रीमान्, श्रीमती, बुवाआमा र दुई छोराछोरी छन् । परिवारको सम्पूर्ण लालनपालनका साथै छोराछोरीको शिक्षादिक्षा यसै व्यवसायबाट धान्दै आएको उहाँले बताउनुभयो । व्यवसायमा काम गर्ने तीन जना कामदारलाई मासिक रु १२ हजारका दरले तलब दिँदै आएको विश्वकर्माले जानकारी दिनुभयो ।

अन्य व्यवसायभन्दा यो व्यवसाय अलिकति जोखिम छ”, उहाँले भन्नुभयो, “कहिलेकाही प्रतिकूल वातावरणका कारण बिरुवामा विभिन्न असर देखापरे बिग्रने, कुहिने, रोग लाग्ने गर्दछ, जसले गर्दा घाटा व्यवहोर्नुपर्ने हुन्छ ।

धन आर्जन गर्न विदेश मात्र नभई स्वदेशमा पनि केही गर्न सकिन्छ भन्ने मान्यताबाट व्यवसाय सुरु गरेको विश्वकर्माले बताउनुभयो । नेपालको झापा, विराटनगर, इटहरी र कञ्चनपुर लगायत स्थानबाट विभिन्न जातका फलफूल, सो–प्यान्टलगायत बिरुवा ल्याएर बिक्री गर्दै आएको उहाँले बताउनुभयो । केही बिरुवा नर्सरीमा आफैँ उत्पादन गर्ने गरेको उहाँको भनाइ छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ