काठमाडौँ,१० चैतः ग्वार्को ओभरपासको निर्माण थालेको तीन वर्ष पूरा भयो । निर्माण थालेयता कोटेश्वर–ग्वार्को–सातदोबाटो–कलंकी खण्डमा ट्राफिक जाम नभएको दिन छैन । चालक–यात्रुसमक्ष लामो समयसम्म ट्राफिक जाम छिचोलेपछि मात्र गन्तव्यमा पुग्नुको विकल्प छैन । तर यसको निर्माण कहिले सकिने हो, टुंगो छैन । वैशाखभित्र सक्ने निर्माण व्यवसायीको दाबी छ । ठेक्का लगाउने निकाय सडक विभागको भनाइ भने बर्खाअघि सबै काम सक्नेछ ।
निर्माणको अन्तिम चरणमा पुगेको ओभरपासको केही खण्ड भत्काएर पुनः बनाउन थालिएपछि भने यस खण्ड भएर ओहोरदोहोर गर्नेहरूले दुवै निकायका कुरा पत्याउन छाडेका छन् । अहिले ग्वार्को ओभरपासमा सातदोबाटोतर्फ राखिएको रेनफोर्स्ड अर्थ (आरई वाल) को प्यानल झिकेर पुनः राखिँदै छ । ४० मिटर दूरीमा राखिएको वालको प्यानल झिकेर फेरि राख्न थालिएको सडक विभाग अन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सिनियर डिभिजनल इन्जिनियर प्रदीप भण्डारीले बताए ।
‘सातदोबाटोतर्फ ४० मिटरमा राखिएको आरई वालको प्यानलमा सुधार गर्नुपर्ने देखियो,’ उनले भने, ‘बीचमा ग्याप भएको र त्यति मात्र सुधार गर्न नमिल्ने भएपछि पूरै भाग निकालेर काम गरिएको हो ।’ माघ २४ बाट प्यानल निकालेर अहिले पुनः राख्ने काम भइरहेको भण्डारीले जनाए ।
‘सबै प्यानल इन्टरलकिङ भएका कारण ४० मिटर पूरै भत्काउनुपरेको हो,’ उनले भने, ‘बिग्रिएको आरई वालको प्यानल राख्न त्यही भागको मात्र माटो निकालेर पुनः राख्न थालिसकिएको छ ।’ आरई वाल राख्ने काम एक महिनाभित्र सकिने उनको भनाइ छ । ‘त्यसपछि बाँकी सबै काम बर्खाअघि सक्ने लक्ष्य छ,’ भण्डारीले भने, ‘कोटेश्वरतर्फ आरई वाल राख्ने काम सकिएको छ । छेउतर्फ प्यारापिट वाल बनाइँदै छ ।’
ओभरपासमा पर्ने पुल निर्माणको काम सकिइसकेको छ । आरई वालको काम सकेर बेस र सबबेस राखी कालोपत्रको काम थालिने भण्डारीले जनाए । आरई वाल र पुल जोड्ने गरी ‘एप्रोच स्ल्याब’ राख्ने काम पनि बाँकी रहेको र त्यो पनि बर्खाअघि नै सकिने उनले बताए । पटक–पटक म्याद थप्दा पनि काम भने सकिएको छैन । ठेक्का लिने कम्पनीले काम नसकेपछि गत पुस १० बाट जरिवाना लगाएर काम गराइराखिएको छ । ‘पुस १० पछि प्रतिदिन ०.०५ प्रतिशतका दरले जरिवाना लगाएर काम गराइरहेका छौं,’ भण्डारीले भने ।
२०७८ फागुनबाट दुई वर्षभित्र सक्ने गरी ओभरपास निर्माणको काम थालिए पनि अहिलेसम्म सकिएको छैन । यसअघि पनि बर्खाले गर्दा भन्दै चार महिनासम्म काम रोकिएको थियो । यसको ठेक्का आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको हो । सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र ओभरपास निर्माण सकिनुपर्ने हो । तर उक्त समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो । उक्त समयभित्र पनि काम नसकिएपछि गत पुस ९ सम्म म्याद थियो । तर काम सकिएन । निर्माण व्यवसायीले भने घाटा सहेर काम गरिरहेको बताउँदै आएका छन् ।
आवतजावतको संरचनासहित ५ सय ४० मिटर लामो ओभरपास बन्नेछ । र्याम्प १०.२ मिटरसम्म अग्लो बन्नेछ । ओभरपासमा अहिलेसम्म निर्माण प्रगति ८२ प्रतिशत मात्र छ । ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो । त्यसैले यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्छ ।
निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि मुख्य काम रोकेर व्यवसायीले ‘डिजाइन रिभाइज’ गरेका थिए । ‘हाम्रा लागि यो ओभरपास निर्माण पहिलो अनुभव हो,’ भण्डारीले भने, ‘निर्माणका क्रममा केही समस्या आए त्यसलाई सुधार गर्दै लगेका छौं ।’
केही दिनअघि सामाजिक सञ्जाल फेसबुकमा पूर्वसचिव अर्जुनजंग थापाले ग्वार्को ओभरपासमा देखिएको समस्याबारे लामै टिप्पणी लेखे । ‘यो प्रकारको संरचना नेपाली व्यवसायी र इन्जिनियरले पहिलो पटक निर्माण गरिरहेका छन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘गल्ती गर्दै सिक्दै छन्, जति पटक काम दोहोर्यायो, त्यो सबै खर्च व्यवसायीले आफ्नो घरघरानाबाट बेहोर्ने हो, कसले जानी–जानी नोक्सानी गर्न खोज्छ र ?’ अब सक्दो छिटो निर्माण सक्न सके यसबाट भोग्नुपरेको सास्ती कम हुने उनको सुझाव छ ।