सोमबार, फागुन २६, २०८१

थारु आलु खेतीबाट आम्दानी लिँदै अत्तरियाका किसान


अत्तरिया (कैलाली),२६ फागुन : यहाँका किसानले स्थानीय जातको थारुआलु खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समयमा यहाँका सयौँ किसानले थारु आलुबाट राम्रो आम्दानी गर्न थालेका हुन् ।

धनगढी उपमहानगरपालिका–६ शान्तिटोलका शेरुराम चौधरीले थारुआलु बिक्रीबाट यस वर्ष रु तीन लाख आम्दानी लिएको बताउनुभयो । उहाँले यस वर्ष आठ कठ्ठामा आलु खेती गर्नुभउको थियो । ४० क्विन्टल आलु उत्पादन गर्नुभएका उहाँले भन्नुभयो “अझै २० क्विन्टल आलु बेच्न बाँकी छ । यस वर्ष आलु राम्रो फलेको थियो । समयमै आलु निकालेकाले मूल्य राम्रो पाइयो । प्रतिकिलो रु एक सय ५० मा बिक्री गरियो ।

उहाँका अनुसार यस जातका आलु खानलाई पनि स्वादिलो र लामो समय भण्डारण गरेर राख्दा बिग्रिने डर हुँदैन । उहाँले तरकारी खेती समेत गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “सिजनअनुसारको तरकारी लगाउँछु । तरकारीखेती र आलुबाट सबै खर्च कटाएर वार्षिक रु छ लाखसम्म बचत हुन्छ । तरकारी खेतीबाटै चार जनाको परिवारको घरखर्च र छोराछोरीको पढाइलेखाइ खर्च धानेको छु ।

सोही ठाउँका पतिराम चौधरीले यस वर्ष २५ क्विन्टल थारुआलु उत्पादन गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले यस वर्ष सात कठ्ठा जग्गामा थारु आलु लगाएको थिएँ । आठ क्विन्टल बेचेको छु । बाँकी अब असारतिर बेच्ने गरी राखेको छु । २० क्विन्टलसम्म विक्री गर्छौँ । बाँकी आफूले खान र बीउका लागि राख्छौँ ।

उहाँले पनि आलुखेतीसँगै तरकारी खेती समेत गर्ने गरेको बताउनुभयो । उहाँले तरकारी र थारु आलु बिक्रीबाट वार्षिक रु तीन लाखसम्म बचत गर्ने गर्नुभएको छ । माग बढ्न थालेपछि लगाउन छाडिएको थारुआलु पछिल्लो समय लगाउन थालिएको उहाँको भनाइ छ ।

सोही ठाउँका स्थानीय रवि चौधरीले यस वर्ष चार कठ्ठामा थारुआलु खेती गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष आठ क्विन्टल जति उत्पादन भएको छ । अहिले मूल्य घटेकाले बेचेका छैनौँ । मूल्य बढेपछि बिक्री गर्छौँ ।” उहाँले तरकारी तथा थारुआलु बिक्रीबाट वार्षिक रु दुई लाख आम्दानी हुने गरेको बताउनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ