काठमाडौँ, २३ फागुनः ‘सुशान्त केसी लाइभ इन कन्सर्ट‘ को अन्तिम तयारी सकिएको छ । फागुन २४ मा भक्तपुरमा अवस्थित सल्लाघारी चौरमा आयोजना हुने कन्सर्टका लागि स्टेज, दर्शक जम्माहुने चौरको व्यवस्थापनदेखि सबै तयारी पूरा सकिएको आयोजक संस्था टीआरएन इभेन्ट्सका रसिक भट्टराईले बताए ।
‘सबै तयारी पूरा भयो । अहिलेसम्म ७ हजार टिकट बिक्री भइसक्यो । अब सुशान्त १५ हजार दर्शकको पर्खाइमा छ,’ रसिकले भने । रसिकका अनुसार सुशान्तका लागि आयोजकले ‘पिलरलेस स्टेज‘ निर्माण गरेका छन् ।
सन् २०१६ देखि सांगीतिक दुनियाँमा प्रवेश गरेका सुशान्तले भक्तपुरमा ‘बार्दली’, ‘सारङ्गी’, ‘पर्खन’, ‘झ्यालबाट’, ‘रिसाउने भए’ र ‘आमा’लगायतका चर्चित गीतमा प्रस्तुति दिनेछन् । सुशान्तले यसअघि गरिएको पत्रकार सम्मेलनमा यो कन्सर्टमा आफ्नो नयाँ गीत सार्वजनिक गर्ने बताएका थिए ।
उनले कुन गीत सार्वजनिक गर्लान् त ? त्यसका लागि भने कन्सर्ट नै पर्खनु पर्ने हुन्छ ।