१९ फागुन, काठमाडौं : नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम सोमबारदेखि ठप्प बनेको छ । स्थानीय बासिन्दाले धादिङ र काठमाडौं दुवैतर्फ निर्माणमा अवरोध गरेपछि काम रोकिएको हो ।
धादिङको सिस्नेखोलातर्फ निर्माणाधीन रोड साइड सर्भिस स्टेसन नजिकै रहेका केही घर चर्किएको भन्दै स्थानीयले क्षतिपूर्तिको माग राखेर काममा अवरोध गरेका हुन् । काठमाडौंको चन्द्रागिरिस्थित टुटीपाखा र धादिङको धुनीबेँसी नगरपालिकास्थित सिस्ने खोला दुवैतिर काम रोकिएको छ ।
नागढुंगा–सुरुङमार्ग निर्माण आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले निर्माणको काम सकिने चरणमा अवरोध हुँदा तोकिएको समयमा आयोजना सम्पन्न गर्न समस्या हुने बताए । उनका अनुसार स्थानीय कालु तामाङको घर गत असोजमा आएको बाढीले गर्दा चर्किएको थियो । त्यसका लागि सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाबाट भौगर्भिक अध्ययन गराएकाले अध्ययन प्रतिवेदन आएपछि थप निर्णय हुने उनको भनाइ छ ।
निर्माणमा कुनै समस्या नआए २०८२ असोजभित्र नागढुंगा–सिस्ने खोला सुरुङमार्गबाट सवारीसाधन चलाउने तयारी आयोजनाको छ । तर पटकपटक काममा अवरोध देखिएको छ ।
२०७६ कात्तिक ४ मा निर्माण थालिएको सुरुङमार्गको ८६ प्रतिशत काम सकिएको छ । मुख्य सुरुङको दूरी २ हजार ६ सय ८८ मिटर र आपतकालीन सुरुङको दूरी २ हजार ५ सय ५७ मिटर छ । अहिले सुरुङभित्र लाइटिङ, क्रंक्रिट सडक निर्माण र बलम्बुको किसिपिडीमा फ्लाईओभर निर्माणको काम अन्तिम चरणमा छ ।
अहिले नागढुंगा सडक खण्ड भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । सुरुङमार्ग निर्माणको काम जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले गरिरहेको छ । सुरुङमार्गको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ छ । यो आयोजनामा जापानको साढे १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण छ । यसमा नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।