सोमबार, फागुन १९, २०८१

सार्वजनिक सञ्चारमाध्यमले खोजमूलक समाचार सामग्रीमा जोड दिनुपर्छ


काठमाडौँ, १८ फागुनः सार्वजनिक सञ्चारमाध्यमले खोजमूलक र विश्लेषणात्मक समाचार सामग्री उत्पादन गर्नुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय समाचार समिति (रासस) ले आज यहाँ आयोजना गरेको क्षमता विकास कार्यक्रम समापन समारोहमा कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पुराना पत्रकारको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गरेर खोजमूलक समाचार सङ्कलन र सम्प्रेषणलाई प्रभावकारी बनाउन सकिने बताउनुभयो । त्यसका लागि ज्ञान हस्तान्तरणको विधि निर्माण गरिनुपर्ने उहाँको भनाइ थियो ।

सार्वजनिक सञ्चारमाध्यमले जनताको प्रश्नको उत्तर समाचारका माध्यमबाट दिनुपर्ने भन्दै कार्यकारी अध्यक्ष झाले प्रश्न नभई पत्रकारिता नहुने जिकिर गर्नुभयो ।

अग्रज पत्रकार राजेन्द्र दाहालले सार्वजनिक सञ्चारमाध्यमले घटनामा आधारित समाचारमा जोड दिइरहेकामा अब खोजमूलक समाचार सामग्रीमा जोड दिनुपर्ने बताउनुभयो । त्यसमा राससको भूमिका अझ बढी महत्वपूर्ण हुने उहाँको भनाइ थियो । केही वर्षअघि राससको आलेख (फिचर) समाचार सामग्रीले नेपाली पत्रकारिताजगत्मा हलचल ल्याउने गरेको स्मरण गर्दै दाहालले त्यही स्वरुपमा खोज पत्रकारिता सुरु गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

पत्रकार विश्वमणि पोखरेलले बग्रेल्ती खुलेका ‘अनलाइन’मा राससकै समाचार प्रयोग हुने गरेको बताउनुभयो । सरकारले सञ्चारमाध्यमलाई वर्गीकरणका नाममा वार्षिक रु ३२ करोड जति विज्ञापन दिएको उल्लेख गर्दै यस प्रकारका क्षमता विकास कार्यक्रमलाई पनि थप गरिनुपर्नेमा जोड दिनुभयो ।

राससका महाप्रबन्धक सिद्धराज राईले घटना प्रधान समाचार सामग्रीबाट सार्वजनिक सञ्चारमाध्यम विषयवस्तु समाचार सामग्रीमा जानुपर्ने बताउनुभयो । मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी ममता बास्तोलाले मन्त्रालयले पहिलोपटक राखेको क्षमता विकास कार्यक्रम सफल भएकाले आगामी आर्थिक वर्षमा यसलाई थप व्यवस्थित गर्दै लैजाने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा सहभागीका तर्फबाट गोरखापत्र दैनिकका समाचारदाता भउचप्रसाद यादवले जान्दै, गर्दै आएको पत्रकारितामा क्षमता विकास कार्यक्रमले थप पालिस लगाउने काम गरेको बताउनुभयो । रेडियो नेपालका समाचारदाता सरिता खनालले सार्वजनिक सञ्चारमाध्यम अब खोजी पत्रकारिताका माध्यमबाट अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

एकदिने क्षमता विकास कार्यक्रममा रासस, गोरखापत्र, सार्वजनिक सेवा प्रसारण नेपालअन्तर्गतका रेडियो नेपाल र नेपाल टेलिभिजनका पत्रकारको सहभागिता रहेको थियो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ