बिहिबार, फागुन १५, २०८१

संवाद : सुशासनको लागि राजनीतिक दलहरू पारदर्शी बन्नुपर्छः सांसद विष्णुबहादुर विश्वकर्मा


काठमाडौँ, १५ फागुनः राष्ट्रियसभाको सदस्य भएको एक वर्ष भयो । संसद्मा पहिलो पटक प्रवेश गरेको हुँ । संसद् मैले सोचेभन्दा फरक रहेछ । राष्ट्रियसभामा आउँदै गर्दा सबै समान होलान् भन्ने लागेको थियो, त्यसो रहेनछ । संसद्मा पनि त्यहि किसिमको विभेद हुँदो रहेछ । समान ढङ्गबाट नीति निर्माण भएको होला भन्ने लागेको थियो । राष्ट्रियसभामा प्रवेश गरेपछि थाहा भयो, यहाँ पनि दलितमाथिको विभेद् स्पष्ट रूपमा देखिन्छ ।

विसं २०७२ मा संविधान घोषणा भएपछि करिब तीन सय ४० वटा ऐन बनेका छन् । मौलिक हकको विषयमा १६ वटा ऐन बनेछन् । तर दलित समुदायको मौलिक हकको विषयमा एउटा पनि ऐन बनेको देखिँदैन । दलित समुदायबारे एकीकृत ऐन अहिले पनि बनेको छैन । अन्तरिम संविधानकालमा २०६८ सालमा जातीय भेदभाव तथा छुवाछूत (कसुर, सजाय) ऐन बनेको थियो । त्यो बाहेक संविधानको मौलिक हकमा व्यवस्था गरिए अनुसार दलितको लागि छुट्टै ऐन बनेको छैन । यसको बारेमा कुनैपनि राजनीतिक दलका प्रतिनिधि र सरकारको ध्यान पुगेको देखिएन । संविधान जारी भएपछि दलित समुदायबाट मन्त्री र राज्यमन्त्री बनेका छन् । तर कसैको पनि दलितसम्बन्धी कानुन बनाउनेतर्फ पर्याप्त ध्यान गएको छैन ।

अहिले संविधान संशोधनका बारेमा छलफल हुन थालेको छ । संविधान संशोधन गर्नुपर्छ तर दलित, महिला, आदिवासी जनजाति, मधेशी, उत्पीडित समुदायको पक्षमा संशोधन गर्नुपर्छ । संविधान संशोधनको नाममा उनीहरूको अधिकार कटौती गर्न पाइँदैन । संशोधन सबैको हित र आवश्यकताका आधारमा हुनुपर्छ । राजनीतिक दलको स्वार्थको निम्ति संशोधन गरिनु हुँदैन ।

राष्ट्रियसभालाई मात्रै समानुपातिक बनाउने तर प्रतिनिधिसभालाई समानुपातिक नबनाउने तरिकाले संशोधन हुँदैछ भन्ने पनि सुनिन्छ । अहिले दलित, महिला, आदिवासी जनजाति, मधेशी र उत्पीडित समुदायलाई धेरै अधिकार भयो भन्ने बहस पनि चलिरहेको छ । यो गलत व्याख्या हो । ती समुदायका लागि हाल संविधानमा केही अधिकारको व्यवस्था गरिएको छ तर त्यो पर्याप्त छैन । दलित समुदायले पाएका अधिकारलाई अझ थप गर्नुपर्छ । संविधान संशोधन पश्चगमन होइन, अग्रगमनका लागि हुनुपर्छ ।

संविधान जारी भएको करिब एक दशक भएको छ । यसको कार्यान्वयनलाई हेर्दा जति हुनुपर्ने हो त्यति हुन सकेको छैन । मौलिक हकअन्तर्गत कानुन बन्न सकेका छैनन् । उत्पीडित समुदायलाई सम्बोधन गर्नेगरी ऐनहरू बनेका छैनन् । सरकार र संसद् ऐन बनाउनेभन्दा पनि दलगत स्वार्थमा केन्द्रित हुनु दुर्भाग्य हो ।

प्रष्ट छ, ऐन नबनेसम्म संविधान कार्यान्वयन हुँदैन । निजामती सेवा ऐन, प्रहरी ऐन र सङ्घीय वित्तसम्बन्धी ऐनहरू बन्न सकेका छैनन् । संविधान पूर्ण रूपमा कार्यान्वयन नहुँदा मुलुकमा अराजक स्थिति उत्पन्न हुन्छ । त्यसैले संसद् र सरकारले यथाशीघ्र ऐन बनाउनतर्फ ध्यान दिनुपर्छ ।

अर्को, मुलुकमा भ्रष्टाचार व्याप्त छ । महङ्गी उत्तिकै छ । नेपाल युवा शक्ति भएको मुलुक हो । तर देशभित्रै रोजगारी नहुँदा दक्ष युवा विदेश पलायन हुनु परेको छ । सरकारले देशभित्र उद्योग कलकारखाना खोलेर विदेसिएका युवाका लागि नेपाल फर्कने वातावरण निर्माण गर्नुपर्छ । विडम्बना के छ भने भएका सरकारले त्यत्रो लगानी गरेर स्थापना गरेका उद्योग, कलकारखानाहरू पनि बन्द अवस्थामा छन् । त्यसलाई सञ्चालन गर्नेतर्फ सरकारको ध्यान जानुपर्छ । उत्पादन बढाउनुपर्छ । सरकारले पटकपटक नीति बनाउँछ । बजेटमा स्वरोजगारको कुरा आउँछ । तर कार्यान्वयन हुँदैन । गाउँ युवाविहीन हुँदैछ ।

सरकारले बजेटमा कृषि उत्पादनलाई प्राथमिकता दिएको हुन्छ । तर कार्यान्वयनको पाटो कमजोर छ । एक ठाउँका लागि बजेटको व्यवस्था गरिएको हुन्छ तर रातारात अर्काे ठाउँमा रकमान्तर हुन्छ । जनताको अवस्था परिवर्तन गर्नु मुख्य कुरा हो । जनतालाई रोजगारी दिनु मुख्य कुरा हो । हामीले व्यवस्था परिवर्तन गरेपनि जनताको अवस्था परिवर्तन गर्न सकेका छैनौँ । अब जनताको अवस्था परिवर्तन गर्नेतर्फ सरकारहरू लाग्नुपर्छ । जनताको अवस्था परिवर्तन हुँदै गएपछि विकासका काम त आफैँ हुँदै जान्छ ।

अबको मेरो योजना भनेको दलितसम्बन्धी एकीकृत कानुन निर्माणका लागि पहल गर्नेतर्फ हुन्छ । संविधानको धारा २५ र ५० अनुसार कानुन बनाउनेतर्फ मेरो ध्यान जानेछ । ती धाराको आधारमा ऐन बनाउनका लागि मेरो सक्रिय भूमिका हुनेछ । दलित समुदायलाई विशेष अधिकार दिनुपर्छ । राजनीतिक दलको सम्पत्ति सार्वजनिक गर्नुपर्छ । सुशासनको लागि राजनीतिक दलहरू पारदर्शी बन्नुपर्छ ।

सांसद विष्णुबहादुर विश्वकर्माको परिचय

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विष्णुबहादुर विश्वकर्मा राष्ट्रियसभाको सदस्य हुनुहुन्छ । सानैदेखि जातीय भेदभाव तथा छुवाछूतको पीडा भोग्नुभएका विश्वकर्मा जान्ने भएदेखि दलित समुदायको अधिकारको निम्ति सङ्घर्ष गर्दै आउनुभएको छ ।

(विद्यार्थी जीवनदेखि नै राजनीति सुरु गर्नुभएका सांसद विश्वकर्मासँग सांसद हुँदाको अनुभव, सङ्घीय संसद्का गतिविधि, संविधान संशोधन, जातीय भेदभाव तथा छुवाछूत लगायतका विषयमा राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश)


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ