बिहिबार, फागुन १५, २०८१

अरनिको राजमार्ग अर्न्तगत धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द


काभ्रे, १५ फागुनः जिल्लास्थित अरनिको राजमार्ग अर्न्तगत धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द गरिएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले सूचना जारी गरेर धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द गरिएको जानकारी गराएको छ ।

धुलिखेल–खावा सडक खण्डको ४ किलोमिटर सडक विस्तार र स्तरोन्नति कार्यका लागि सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण व्यवसायी गौरी–पार्वती निर्माण सेवा प्रालिबीच २२ महिनामा काम सक्नेगरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम सम्पन्न गरिसक्नुपर्ने थियो । ३० करोड ७८ लाख २ हजार ३० रुपैयाँको लागतमा उक्त सडक खण्डको विस्तार तथा स्तरोन्नतिको कार्यलाई गौरी–पार्वती निर्माण सेवा प्रालिले २० करोड १९ लाख ४६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

सडक डिभिजन भक्तपुर अन्तर्गत काभ्रेपलान्चोक जिल्लामा सञ्चालित ठेक्का नम्बर DROBK T/33701138/078/79/15, Improvement Of Araniko Highway Dhulikhel Dolalghat Road Section NH34 Dhulikhel Khawa Section (30+000-34+155.47Km) निर्माण कार्यका लागि निर्माण व्यवसायी श्री गौरी पार्वती निर्माण सेवा प्रालि काठमाडौं र सडक डिभिजन भक्तपुरबीच २०७९–२–२० मा ठेक्का सम्झौता भई २०८०–१२–१९ सम्म सम्पूर्ण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भएता पनि हालसम्म खरिद सम्झौताको कार्यतालिका अनुसार भौतिक प्रगति अत्यन्त न्यून रहेकाले ठेक्का रद्द गरिएको डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।

कार्यालय प्रमुख सुमन योगेशका अनुसार, निर्माण कार्य सुचारू गरी समयमा सम्पन्न गर्न यस अघि पटक–पटक पत्राचार गर्दासमेत चासो नदेखाएको, ठेक्का अन्त्यको कारबाही किन नगर्ने भनी सूचना प्रकाशन गर्दासमेत त्यस प्रालिले यस कार्यालयमा उपस्थित भई निर्धारित समयावधिभित्र दिएको लिखित स्पष्टीकरण सन्तोषजनक, भरपर्दो र विश्वसनीय नदेखिएको कारण र निर्माण व्यवसायीलाई पटक–पटक लिखित एवम् मौखिक अनुरोध गर्दा पनि निजले सम्झौताका सर्तहरू बमोजिम आफ्नो करारिय दायित्व पूरा नगरेको पाइएको छ ।

हालको अवस्थामा सडकमा निर्माण कार्य नरहेको, स्थानीय जनता/उपभोक्ताले सास्ती भोग्नुपरिरहेको अवस्था रहेको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९(२) तथा ठेक्का सम्झौता जिसिसि क्लज ७२.३(जि) बमोजिम फण्डामेन्टल ब्रिच अफ कन्ट्रयाक्ट भएकोले ठेक्का सम्झौताको जि सि सि क्लज ७२.१ (सि) भएको व्यवस्था र सारभूत रूपमा निर्माण व्यवसायीले उक्त ठेक्का सम्पन्न गर्ने विश्वसनीय परिस्थिति सिर्जना हुन नसकेको हुँदा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ५९ (२) समेतको आधारमा यस कार्यालयको मिति २०८१–११–१३ गतेको निर्णय अनुसार ठेक्का अन्त्य गरिएको उनले जानकारी दिए ।

उनका अनुसार, ठेक्का सम्झौताको जिसिसि (७५.१) बमोजिम भुक्तानी हुन बाँकी स्वीकार्य रूपमा भएको अवस्थित कार्य भएमा यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सम्पर्क राखी वित्तीय फरफारक गर्न समेत अनुरोध गरिएको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ