आइतबार, फागुन ११, २०८१

पनौती–काठमाडौँ खण्डमा विद्युतीय सवारी सञ्चालन


काभ्रेपलाञ्चोक, ११ फागुनः काभ्रेपलाञ्चोक–पुण्यवती यातायात कम्पनीले आजदेखि विद्युतीय सवारी (इभी माइक्रो) सञ्चालनमा ल्याएको छ । यसअघि मिनीबसबाट सेवा दिँदै आएको समितिले आजदेखि पनौती नगरपालिकाको खोपासी र शङ्खुबाट विद्युतीय गाडीमार्फत सेवा आरम्भ गरेको हो ।

खोपासी र शङ्खुबाट पनौती बसपार्क हुँदै कोटेश्वर–तिनकुने गएर पुनः खोपासी र शङ्खु फर्कने गरी दुई नयाँ रुट कायम गर्दै सेवा दिन थालेको समितिले जनाएको छ । सेवारम्भको कम्पनीका अध्यक्ष राजेशसुन्दर सैँजूले पनौतीस्थित मानेश्वरी पार्कमा इभी माइक्रो सञ्चालन उद्घाटन गर्नुभयो । “हाल दुई रुटबाट पाँच-पाँच वटा इभी माइक्रोले सेवा दिनेछौँ, पछि आवश्यकताअनुसार थप्दै जानेछौँ”, उहाँले भन्नुभयो ।

पर्यावरण, प्रविधि तथा यात्रुको जनघनत्वलाई ध्यानमा राख्दै छिटोछरितो सेवा दिने उद्देश्यले विद्युतीय गाडीले मिनीबसको साविक भाडादरमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । हाल खोपासीबाट ११ सिट क्षमताको र शङ्खुबाट १४ सिट क्षमताको इभी माइक्रो सञ्चालनमा ल्याइएको हो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ