काठमाडौँ, १० फागुनः गुगलले आफ्नो सबैभन्दा ठूलो कार्यालय भारतमा स्थापना गरेको छ । यसै साता बुधबार बेंगलुरुस्थित महादेवपुरमा उद्घाटन गरिएको यो ‘अफिस क्याम्पस‘ वा कार्यालयको नाम ‘अनन्त’ राखिएको छ । गुगलको भारतमा यो चौथो कार्यालय हो । यहाँबाट गुगल सर्च, म्याप्स, एआई, एन्ड्रोइड, गुगल पे, क्लाउड लगायत विभिन्न एप्पलिकेसनका लागि कार्य हुने कम्पनीले जनाएको छ ।
भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अध्यक्ष भी नारायण र गुगल इन्डियाकी उपाध्यक्ष प्रीति लोबानाले कार्यालय उद्घाटन गरेका थिए ।
करिब ५ हजार कर्मचारी अट्ने अनन्त कार्यालयमा कर्मचारीका लागि अत्याधुनिक प्रविधि, आरामदायी कार्यस्थल, जिमखानासहित स्वास्थ्य र मनोरन्जनका सुविधा समावेश छन् । गुगलले भारतमा आफ्नो उपस्थिति सुदृढ गर्दै ११ हजारभन्दा बढी धेरैलाई रोजगार दिएको ‘द हिन्दु’ले जनाएको छ ।
भारतका दक्ष जनशक्ति र तीव्र आर्थिक वृद्धिलाई मध्यनजगर गर्दै गुगलले त्यहाँ आफ्नो सबैभन्दा ठूलो कार्यालय स्थापना गरेको विश्लेषण भइरहेको छ । पछिल्लो समय भारत विश्वको सबैभन्दा ठूलो डिजिटल उपभोक्ता बजारमध्ये एक हो । यहाँका प्रविधि-प्रेमी जनसंख्या, दक्ष जनशक्ति र स्टार्टअप इकोसिस्टमले गुगलसहित विश्वका ठूला टेक कम्पनीलाई आफ्नो ग्लोबल विस्तारको केन्द्र बनाएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार गुगलको नयाँ कार्यालय आधुनिक डिजाइन र अत्याधुनिक प्रविधिले भरिपूर्ण छ । त्यहाँ कार्बन फुटप्रिन्ट घटाउने गरी ऊर्जा मितव्ययी र वातावरणमैत्री संरचना निर्माण गरिएका छन् । एआई र क्लाउड कम्प्युटिङका लागि अत्याधुनिक सुविधा समावेश गरिएको छ । कार्यालयले भारतमा अनुसन्धान र विकास प्रवर्द्धन गर्दै स्टार्टअप र नवप्रवर्तनलाई समेत सघाउने अपेक्षा गरिएको छ ।
गुगलका प्रमुख सुन्दर पिचाईले भारतलाई गुगलको दीर्घकालीन योजना र नवप्रवर्तनको केन्द्र बनाउने प्रतिबद्धता जनाउँदै आएका छन् । कार्यालयको स्थापनाले भारतलाई प्रविधि र डिजिटल अर्थतन्त्रको हब बनाउने दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बेंलगलुरुबाहेक गुगलका गुणगाव, हैदराबाद, मुम्बई र पुणेमा ‘अफिस क्याम्पस’ भनिने कार्यालय छन् ।
केही वर्षदेखि गुगलले भारतका स्थानीय स्टार्टअपदेखि सरकारी निकायलाई एआई, कृषि, स्वास्थ्य र दिगो विकासका क्षेत्रमा सहयोग र सहकार्य गर्दै आएको छ । गुगल मात्रै नभएर भारतका विभिन्न सहरमा इन्फोसिस, माइक्रोसफ्ट, अमेजन, ओर्याकल, आईबीएम जस्ता विश्वका ठूल्ठूला प्रविधि कम्पनीले आफ्ना अफिस क्याम्पस स्थापना र सञ्चालन गर्दै आएका छन् ।