पाटन (ललितपुर), ६ फागुनः मूलधार र मोसफलका सञ्चारमाध्यममा महिलाको अर्थपूर्ण सहभागिता र महिलाका सवालमा बढी समाचार सम्प्रेषण गर्न समाचार कक्षलाई प्रभावकारी बनाइनुपर्नेमा सरोकार भएकाहरूले जोड दिएका छन् ।
मिडिया एड्भोकेसी ग्रुपद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले समाचारको सम्पादन गर्ने ठाउँमा महिलाको सहभागिता कम हुँदा मूलधारका सञ्चारमाध्यममा महिला राजनीतिकर्मी, महिला उद्यमीको समाचारले कम प्राथमिकता पाएको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको प्रभावका कारण दैनिक पत्रिकाका पेज घट्दा पनि महिलाका विषयले समाचारमा कम प्राथमिकता पाएको धारणा राख्नुभयो ।

सचिव अर्यालले महिलाका चासो, सरोकार र हितका पक्षमा सञ्चारमाध्यमले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “राजनीतिक क्षेत्रमा मात्रै नभएर अन्य क्षेत्रमा पनि महिलाका मुद्दा उठेका छन् कि छैनन् भनेर ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।
‘हाइकमिशन’ क्यानाडाका प्रथम सचिव इयान ट्राइट्सले राजनीति र पत्रकारितामा महिलाको अर्थपूर्ण सहभागिताका लागि तालिम र ‘फेलोसिप’ महत्त्वपूर्ण हुने भन्दै सीमान्तकृत समुदायको विकास र दिगो विकास लक्ष्यलाई ध्यानमा राखेर नेपाललाई सहयोग गर्ने बताउनुभयो । उहाँले महिलाको क्षमता अभिवृद्धि र सहभागिता वृद्धिका साथै समावेशी प्रतिनिधित्वका लागि ‘फेलोसिप’ प्रभावकारी हुने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले महिलालाई राजनीतिक तहमा निर्णायक भूमिकामा स्थापित गर्न सञ्चारमाध्यमको हस्तक्षेपकारी भूमिका आवश्यक रहेको बताउनुभयो । उहाँले महिलाका मामिलामा विषयगत विज्ञता भएका संस्थहरूसँग समन्वय गरेर काम गर्न आवश्यक रहेकोसमेत बताउनुभयो । “विगतमा प्रतिनिधिसभा र राष्ट्रियसभा मात्रै राजनीतिक समाचार सम्प्रेषणका माध्यम थिए, राजनीतिक समाचार सम्प्रेषण गर्नका लागि अहिले धेरै अवसरहरु छन्”, उहाँले भन्नुभयो, “महिलाका समाचारलाई प्राथमिकतामा राख्ने सन्दर्भमा समाचारदातालाई सञ्चार माध्यमले दिने जिम्मेवारी र उनीहरूको इच्छाशक्तिमा पनि भरपर्छ ।”

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राजनीति र परराष्ट्र मामिलाका समाचार नीतिगत विषयसँग जोडिने भएकाले यी विषय अत्यन्तै महत्वपूर्ण रहेका बताउनुभयो । “राजनीति र परराष्ट्र मामिला बढी सुझबुझ र अध्ययन गरेर लेख्नुपर्ने क्षेत्र हो, यो क्षेत्रमा पत्रकार महिलाहरूको सहभागिता र सक्रियता महत्वपूर्ण छ । सञ्चारमाध्यमभित्र सहभागिता बढ्ने र समाजमा समाचार सम्प्रेषण गर्ने वातावरण हुनुपर्छ”, उहाँले भन्नुभयो ।

सार्वजनिक सेवा प्रसारण संस्था नेपालका अध्यक्ष डा महेन्द्र विष्टले महिलाका आवाज र चासोलाई समाचारमा समावेश गराउन समाचार कक्षलाई साहीअनुसार विकास गर्नुपर्ने धारणा राख्नुभयो । “समाचार सङ्ख्याभन्दा पनि कस्ता समाचार आए भन्ने कुरामा ध्यान दिनुपर्छ । प्रभाव बढाउने तहमा समाचार सम्प्रेषण बढाउन ध्यान दिनुपर्छ”, उहाँले भन्नुभयो ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले सञ्चारमाध्यममा राजनीतिक क्षेत्रका महिलाका समाचार बढाउन महिला पत्रकारलाई पर्याप्त तालिम दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । महिलाका सवाल र राजनीतिक चासोका विषयलाई मूलधारका सञ्चारमाध्यममा प्राथमिकताका साथ समेट्न ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।
रिपब्लिका दैनिकका सम्पादक प्रकाश रिमालले परराष्ट्र मामिलामा समाचार सम्प्रेषणमा उच्चस्तरको ज्ञान आवश्यक हुने भन्दै महिलाका समाचारलाई उच्च प्रथामिकतामा राख्ने विषयमा समाचार कक्षमा छलफल गर्नु आवश्यक रहेको बताउनुभयो । यसमा समाचार लेख्ने जिम्मेवारीमा रहेका समाचारदाताको मुख्य जिम्मेवारी र भूमिका हुने उहाँको भनाइ थियो ।
बाह्रखरी डटकमका विशेष सम्पादक हरिबहादुर थापाले सङ्घीय पद्धतिमा धेरै अधिकार स्थानीय तहमा गएकाले राजनीतिमा महिलालाई प्रोत्साहित गर्न स्थानीयस्तरमा नै महिलाका समाचार लेख्नमा बढी जोड दिनुपर्ने बताउनुभयो ।
मिडिया एड्भोकेसी ग्रुपका अध्यक्ष अनिता विन्दुले सञ्चार माध्यममा महिला राजनीतिकर्मीका समाचार र महिला पत्रकारको सहभागितालाई आधार बनाएर सन् २०२४ नोभेम्बर २० देखि २०२५ जनवरी २० सम्म गरेको मिडिया अनुगमनका आधारमा महिला लक्षित समाचार ११ दशमलव ७४ प्रतिशत रहेको पाइएको बताउनुभयो ।
गोरखापत्र, कान्तिपुर, नागरिक, नयाँ पत्रिका, अन्नपूर्ण पोष्ट, दि काठमाडौँ पोष्ट, रिपब्लिकासहित सात वटा पत्रिकामा एक हजार छ वटा समाचार प्रकाशित हुँदा एक सय १५ वटा समाचार मात्रै महिलाका सवालमा रहेका उहाँले जानकारी गराउनुभयो ।
दैनिक पत्रिकामा महिला राजनीतिकर्मीको समाचार ‘कभरेज’ हेर्दा नयाँ पत्रिका २८ दशमलव २४ प्रतिशत, कान्तिपुरमा ९ दशमलव ८ प्रतिशत पाइएको अध्यक्ष विन्दुले जानकारी दिनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














