04/21/2025, 18:27:35

ग्वार्को ओभरपासमा ठेकेदारले रोकेको काम महिना दिनपछि पुनः सुरु


काठमाडौँ, २६ माघः  ग्वार्को ओभरपासको काम महिना दिनपछि पुनः सुरु भएको छ । पटक–पटक म्याद थप्दा पनि ठेक्का लिने कम्पनीले काम नसकेपछि गत पुस १० बाट जरिवाना लगाएर काम गराइएको थियो । ठेक्का लगाउने निकायबाट काम गर्ने वातावरण नभएको भन्दै पुस १८ बाट निर्माण व्यवसायीले काम ठप्प पारेका थिए । जसले गर्दा महिना दिनसम्म निर्माणको काम रोकिएको थियो ।

बुधबारबाट भने निर्माण व्यवसायीले काम थालेको सडक विभागअन्तर्गत गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका निर्देशक दीप बाराहीले बताए । ‘रोकिएको काम सुरु भएको छ,’ बाराहीले भने, ‘जरिवाना लगाएरै काम भएको छ, सातदोबाटोतर्फ निर्माणका क्रममा केही त्रुटि देखिएका छन्, त्यसमा सुधार गर्दै काम गर्न निर्माण व्यवसायी तयार भएका हुन् ।’ निर्माण व्यवसायीलाई चैतसम्म काम सक्न भनेको उनले सुनाए । ‘उक्त समयमा केही तलमाथि होला,’ उनले भने, ‘अब निर्माणमा धेरै ढिला हुने छैन ।

सातदोबाटोतर्फ जडित प्यानलमा ग्याप देखिएकाले त्यसलाई निकालेर काम गर्नुपर्ने उनले जनाए । केन्द्रका अनुसार सातदोबाटोतर्फ एमएसई वाललगायतमा समस्या देखिएको थियो । त्यो सुधार गर्दै काम अघि बढाउनुपर्ने बाराहीको भनाइ छ ।

२०७८ फागुनबाट दुई वर्षभित्र सक्ने गरी ओभरपास निर्माणको काम थालिए पनि अहिलेसम्म सकिएको छैन । यसअघि पनि बर्खाले गर्दा भन्दै चार महिनासम्म काम रोकिएको थियो । व्यवसायीले कुनै जानकारी नै नदिई काम छाडेको भन्दै ठेक्का लगाउने निकाय केन्द्रले दुई पटक ‘नोटिस टु करेक्ट’ पठाएको थियो । अहिले कुनै समस्या नरहेको र काम सुरु भइसकेको सडक विभागका उपमहानिर्देशक एवं प्रवक्ता अर्जुनप्रसाद अर्यालले बताए ।

केही समय काम रोकियो,’ उनले भने, ‘जरिवाना लगाएर काम गराइएको हो, त्यसैले निर्माण व्यवसायीले जति छिटो काम गर्छन्, त्यति नै जरिवाना कम पर्छ ।’ अब कामको रफ्तार बढाउने जिम्मेवारी व्यवसायीको रहेको उनले जनाए । ‘सरकारी निकायबाट गर्नुपर्ने काममा केही समस्या परे केन्द्र र विभागलाई भन्न भनेका छौं,’ उनले भने, ‘अब यो र त्यो बाहना बनाएर काममा ढिलाइ गर्न भएन ।

यसको ठेक्का आशिष–समानान्तर–रेलिगेर जेभीले १७ करोड ६ लाख ८८ हजार रुपैयाँमा लिएको हो । संयुक्त ठेक्का भए पनि काम रेलिगेर कन्स्ट्रक्सनले गर्दै आएको छ । सुरु सम्झौताअनुसार २०८० फागुन १२ भित्र ओभरपास निर्माण सकिनुपर्ने हो । तर उक्त समयभित्र काम नसकिएपछि दोस्रो पटक २०८१ असारसम्मका लागि म्याद थपियो । उक्त समयभित्र पनि काम नसकिएपछि गत पुस ९ सम्म म्याद थियो । उक्त समयभित्र नसकिएपछि पुस १० बाट जरिवाना लगाएर काम गराइएको हो ।

आवत-जावतको संरचनासहित ५ सय ४० मिटर लामो ओभरपास बन्नेछ । छेउछेउमा क्रंक्रिट प्यानल र विशेषखालको ‘पोलिमर रेन्फोर्समेन्ट’ राखेर र्‍याम्प बनाउने काम थालिए पनि पूरा भएको छैन । र्‍याम्प १०.२ मिटरसम्म अग्लो बन्नेछ । सातदोबाटोतर्फ बनाइएको ४० मिटर र्‍याम्प भने झिकेर फेरि राख्नुपर्नेछ । यो निर्माण व्यवसायीले सच्याउनुपर्ने त्रुटिमध्ये एक हो , जहाँ राखिएको र्‍याम्पमा ग्याप देखिएको छ । ओभरपासमा अहिलेसम्म ४४ करोड खर्च भइसकेको र थप १५ करोड लाग्ने अनुमान निर्माण व्यवसायीले गरेका छन् ।

ओभरपासमा अहिलेसम्म निर्माण प्रगति ८२ प्रतिशत छ । ठेक्का भएको १३ महिनामा डिजाइनमा समस्या आएपछि काम रोकिएको थियो । इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलअन्तर्गत यसको ठेक्का गरिएको हो । त्यसैले यसमा डिजाइनदेखि निर्माणसम्मको काम ठेक्का लिने कम्पनीले नै गर्नुपर्छ । निर्माणका क्रममा प्राविधिक समस्या देखिएपछि मुख्य काम रोकेर व्यवसायीले ‘डिजाइन रिभाइज’ गरेका थिए । ओभरपास निर्माणको काम समयमै नसकिँदा कोटेश्वर–कलंकी भएर ओहोरदोहोर गर्नेले दैनिक ट्राफिक जामको सास्ती खेप्न बाध्य छन् ।

कोटेश्वर–कलंकी सडकलाई चीन सरकारको अनुदानमा २०७५ सालमा ८ लेनमा विस्तार गरिएको थियो । अहिले यही खण्डमा पर्ने ग्वार्कोमा सडकमा ओभरपास निर्माण थाल्दा ट्राफिक जामको समस्या थपिएको हो ।