04/05/2025, 16:07:11

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने योजनामा छौँ : मन्त्री प्रदीप पौडेल


कास्की, २३ माघ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल सरकारले स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउँदै उपचारलाई सर्वसुलभ बनाउने योजनामा रहेको बताउनुभएको छ ।

पोखरा महानगरपालिका–१२ स्थित शितलादेवी माध्यमिक विद्यालयमा आज पाठेघरको मुखमा हुने क्यान्सरविरूद्ध लगाइने एचपिभी खोप अभियानको शुभारम्भ गर्दै उहाँले स्वास्थ्य बिमालाई व्यवस्थित बनाइने बताउनुभयो । उहाँले भन्नुभयो, “वर्तमान सरकार स्वास्थ्य क्षेत्रको विकास र सुधारलाई प्राथमिकतामा राखेर यसलाई व्यवस्थित बनाउने योजनामा छ । बिरामीको उपचार सर्वसुलभ गर्ने र उपचार गर्न नसक्नेलाई निःशुल्क बनाउने तथा स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने छौँँ ।

स्वास्थ्यमन्त्री पौडेलले नेपालमा पाठेघरको क्यान्सरबाट महिलाले ज्यान गुमाइरहेको अवस्थामा अहिलेका किशोरीहरूलाई खोप उपलव्ध गराएर अबदेखि कसैले अकालमा ज्यान गुमाउन नपरोस् भनेर देशभर खोप अभियान सुरू गरिएको जानकारी दिनुभयो । उहाँले क्यान्सर लागेको पत्ता लागि सकेको उपचार सर्वसुलभ गराउने र उपचार नसक्नेका लागि निःशुल्क गराउने तयारी सरकारको रहेको मन्त्री पौडेलको भनाइ छ ।

पोखरा महानरपालिका क्षेत्रमा एचपिभी खोप अभियानका क्रममा करिब २३ हजार सात सय ४८ बालिकाहरूलाई खोप लगाइने छ । आगामी फागुन ६ गतेसम्म महानगरका दुई सय ७५ विद्यालय र ४७ वटा स्वास्थ्य संस्थाहरूमा तीन सय ४४ जना स्वास्थ्यकर्मी र छ सय ८८ जना स्वयंसेवहरू परिचालन गरी खोप कार्यक्रम सञ्चालन गरिएको महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो ।

विद्यालय उमेरका कक्षा ६ देखि १० र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षसम्मका बालिका तथा किशोरीहरूलाई यो खोप प्रदान गर्न लागिएको हो । वडाध्यक्ष सन्तोष बाँस्तोलाले वडाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकता दिएको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका अभिभावकको पारिवारिक बिमा गर्ने गरिएको जानकारी दिनुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..