सोमबार, माघ २१, २०८१

नारायणघाट बुटवल सडक विस्तारले गति लिँदै


नवलपुर (नवलपरासी), २१ माघः राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ बुटवल खण्ड विस्तारको कामले तीव्रता पाएको छ ।

नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिनुभयो । “यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पु¥याउने गरी काम भइरहेको छ”  उहाँले भन्नुभयो,  “पुल र कल्भर्ट रहेका ठाउँ बाहेकका सडकमा कालोपत्र गर्नेगरी १८ ठाउँमा काम भइरहेको छ ।” पूर्वीखण्डमा पर्ने ६५ किलोमिटर सडकमध्ये पुल र कल्भर्टको भाग करिब तीन किलोमिटर रहेको भन्दै उहाँले अहिले गैँडाकोटबाट दाउन्नेसम्म ४० किलोमिटर एकतर्फी कालोपत्र भएको बताउनुभयो ।

दुई लेनतर्फ भएको सडकको कालोपत्रको गणना गर्दा भने करिब ६४ किमी सडक कालोपत्र भएको उहाँको भनाइ छ । अब करिब २२ किमी सडक कालोपत्र गरेको अवस्थामा नारायणघाटबाट दाउन्नेसम्म एक लेन सडकमा कालोपत्रको काम सकिने सूचना अधिकारी इञ्जिनीयर खनालले बताउनुभयो ।

यो महिना दाउन्नेसम्म नै एकतर्फी कालोपत्र गर्ने योजना हो” उहाँले भन्नुभयो, “दाउन्ने क्षेत्रमा १०३ वटा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले हामी दुम्कीबाससम्म कालोपत्र सक्ने गरी लागेका छौँ ।

दाउन्नेको साँघुरो सडकमा कल्भर्ट निर्माण गर्दा सवारीसाधन एकतर्फी गर्नुपर्ने अवस्था रहेको भन्दै दाउन्नेसम्म कालोपत्र गर्न केही समय लाग्ने उहाँको भनाइ छ । सडक विस्तारका लागि ग्रेडर, लोडर, एक्साभेटरसहित १८ स्थानमा पाँच सय ५० जना श्रमिकले धमाधम काम गरिरहेका उहाँको भनाइ छ । हालसम्म सडकको भौतिक प्रगति ५३ दशमलव ३ प्रतिशत रहेको भन्दै उहाँले एक महिनाको अवधिमा एक दशमलब ४३ प्रतिशत प्रगति भएको बताउनुभयो ।

जनवरीमा पाँच किलोमिटर कालोपत्र थपियो, थप १२ किमी कालोपत्रको तयारी भएको छ” उहाँले भन्नुभयो, “गैँडाकोटको नारायणीको पुल नजिकै, डण्डा, सिजी, अरुणखोला बजार क्षेत्रमा कालोपत्रको लागि धमाधम काम भइरहेको छ ।” दुम्कीबासको जङ्गल क्षेत्रको करिब आठ किलोमिटर क्षेत्रमा पनि कालोपत्र गर्नेगरी काम भइरहेको सूचना अधिकारी इञ्जिनीयर खनालले बताउनुभयो ।

यस खण्ड निर्माणको लागि ग्लोबल बोलपत्रमार्फत चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनीयरिङ कर्पोरेसन लिमिटेड’लाई ठेक्का परेको थियो । विसं २०७५ माघ २२ मा सरकार र निर्माण कम्पनीबीच विसं २०७९ साउन २२ भित्र काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो ।

एक सय १४ किमी सडकलाई गैँडाकोट–दाउन्ने (६५ किलोमिटर) र दाउन्ने–बुटवल (४९ किमी ) गरी दुई खण्डमा विभाजन गरी आह्वान गरिएको बोलपत्रमा दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सनले पाएको थियो । विसं २०७५ चैत ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलबाट दुवै खण्डको शिलान्यास गरेपछि सडक विस्तारको औपचारिक काम सुरु भएको थियो ।  निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलो पटक २०८० साउन ८, दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो । निर्माण कम्पनीले कोभिड, निर्माण सामग्रीको अभावलगायत विभिन्न समस्या देखाउँदै तीन पटकसम्म ठेक्का सम्झौताको म्याद थप गराएको छ । आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले तेस्रो पटक म्याद थप गरेको छ ।

म्याद थप गरिएको चार महिना काम नै नगरी समय तिाएको निर्माण कम्पनीलाई सरकारले कारबाही गर्ने गरी पत्राचार गरेपछि डिसेम्बर २०२४ बाट पुनः काममा फर्किएको थियो । दुई लेनमा रहेको सडकलाई चार लेनमा विस्तार गरी दुई–दुई लेनको बीचमा ‘ग्रीनरी’ राखिनेछ ।

तीन मिटरकोबीच भागमा बिरुवा लगाउने गरी ठेक्का सम्झौता भएको छ । सडक विस्तारपछि दुवैतर्फ सडकको चौडाई ७/७ मिटरको हुनेछ । बजार क्षेत्रमा ६÷६ मिटरको ‘सर्भिस लेन’ समेत निर्माण गरिनेछ । बजार क्षेत्रको १७.६ किलोमिटर सडकमा अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ । बजार क्षेत्रमा सार्वजनिक सवारीसाधनले यात्रु चढाउन र ओराल्न सर्भिस लेन बनाइने योजनाले जनाएको छ । सडकको ४२.७ किमी खण्ड चार लेनको हुनेछ भने दाउन्ने खण्डको पाँच किमी सडक तीन लेनको हुने जनाइएको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading