शुक्रबार, माघ १८, २०८१

मुक्कुम्लुङका अभियन्ता भन्छन् : विकासका अवधारणा परिवर्तन गरौँ


काठमाडौँ, १८ माघ : केही दिनयता ताप्लेजुङ्मा मुक्कुम्लुङ संरक्षणको विषयमा आन्दोलन चलिरहेको छ । सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यी विषयमा बहस भइरहँदा बौद्धिक जगत तथा कलाक्षेत्रका व्यक्तिहरूले हाम्रा विकासका अवधारणा नै गलत भएको बताएका छन् ।

आज मण्डला नाटकघरमा मञ्चन भइरहेको नाटक ‘मुक्कुम्लुङः चोःत्–लुङ अफ याक्थुङ’ को सन्दर्भमा आयोजित ‘मुक्कुम्लुङ मन्थन’ का वक्ताहरूले राज्यको विकासका अवधारणा परिवर्तन गर्न सुझाव दिएका छन् । “हामीले हाम्रो सामाजिक सांस्कृतिक पुँजीलाई समाज निर्माणमा प्रयोग गर्न सकेका छैनौँ”, समाजशास्त्री डा मीना पौडेलले भन्नुभयो, “नेपालको माटो, सामाजिक विविधता सुहाउँदो र समतामूलक समाज निर्माणका लागि योजना नै बन्दैन । विकासको दृष्टिकोण केवलकार, भ्यूटावर बन्नु, खोलाको गिट्टी बालुवा ठेक्का लगाउनु मात्रै होइन ।

उहाँले मुक्कुम्लुङको आन्दोलनलाई जातीय बिल्ला भिराएर लिम्बूहरूको पहिचान र आन्दोलनसँग मात्र जोडेर हेर्न नहुने बताउनुभयो । “सदियौँदेखि विभिन्न स्थानमा आदिवासी जनजाति समुदायमाथी दमन भइरहेको छ । ती सबैलाई एकत्रित गरेर आन्दोलन गर्न सकेमात्र सशक्त हुन्छ”, डा पौडेलले भन्नुभयो, “यस्तो आन्दोलन अहिले हाम्रो देशमा मात्र होइन संसारभर चलिरहेको छ ।

अर्का वक्ता तथा लेखक युग पाठकले नेपाललाई नेपाल जस्तो बनाउनेभन्दा स्वीजरल्याण्ड, सिङ्गापुर जस्तो बनाउनेबाट विकासको अवधारणाबाटै गलत भाष्य निर्माण भएको बताउनुभयो । “यहाँ विभिन्न मुलुकबाट परियोजनाका नाममा सके आर्थिक र नसके दार्शनिक लगानी गरेर भए पनि विकासको धारणालाई गलत ढङ्गबाट भाष्य निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “केवलकार नबनाउँदा जङ्गली हुने र बनाउँदा भोलिपल्टै अमेरिकी जस्तो हुने भाष्य बनाइएको छ, यो सरासर गलत छ ।” विकासमा पर्यावरणको मुद्दा उठेकै धेरै समय नभएकाले मुक्कुम्लुङजस्ता आन्दोलन अब राज्यले दमन गर्दैमा नरोकिने बताउनुभयो ।

चलचित्र निर्देशक नवीन सुब्बाले मुक्कुम्लुङ एउटा समुदायको मात्र सांस्कृतिक धरोहर नभइ सबैले संरक्षण गर्नुपर्ने आस्थाको केन्द्र रहेको बताउनुभयो । लिम्बूहरूको मुन्धुममै मुक्कुम्लुङलाई शीरको रूपमा पूजिने भएकाले लिम्बू समुदायले सांस्कृतिक र पर्यावरणीय रूपमा संरक्षणका लागि आन्दोलन गरेको उहाँले स्पष्ट पार्नुभयो । “कुनै एक धर्म वा सम्प्रदायमा जे गरिनु हुँदैन भनेको छ । त्यही गर भनेर कसैले भन्यो भने के हुन्छ”, उहाँले भन्नुभयो, “मुक्कुम्लुङमा अहिले भएको त्यही हो । यो आदिवासी समुदायको भूमिमाथिको अधिकारको विषय पनि भएकाले अहिले आन्दोलन चर्किनु स्वाभाविक हो ।

उहाँले कलाकारहरूले कला र संस्कृतिको माध्यमबाट सामाजिक, सांस्कृतिक चेतना अभिवृद्धि र प्रतिरोधका लागि सचेत गराउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमको सहजीकरण सम्पदा लिम्बूले गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा मुक्कुम्लुङ नाटकमा आधारित रहेर कविहरू सन्जित फलाना, मिथोच, सुरज राना, उत्तम तुम्सा लिम्बूलगायतका कविले कविता वाचन गर्नुभएको थियो । मण्डला नाटकघरमा ‘मुक्कुम्लुङ’ नाटक यही माघ ४ गतेदेखि मञ्चन भइरहेको छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading