काठमाडौँ, १५ माघः नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन भूमिका खेल्न आफ्ना सांसदलाई निर्देशन दिएको छ । आज नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको संसदीय दलको बैठकले यही माघ १८ गतेदेखि सुरु हुने अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीका तर्फबाट प्रतिनिधित्व गर्ने दुवै सदनका सांंसदलाई निर्देशन दिएको हो ।
प्रतिनिधिसभामा सो पार्टीका मुख्य सचेतक महेश बर्तौलाले अधिवेशनलाई प्रभावकारी बनाउन पार्टीले सबै सांसदलाई सक्रियपूर्वक भाग लिन निर्देशन दिइएको बताउनुभयो । उहाँले नेपाली कांग्रेस र एमालेको साझा प्रयत्नपछि अध्यादेश ल्याइएकाले सोहीअनुसार संसद्बाट पारित गरिने बताउनुभयो ।
संसदलाई छलेर नभई संसद् सञ्चालनमा नरहेका बेला अध्यादेश ल्याइएको उल्लेख गर्दै बर्तौलाले यसमा सबैको समर्थन रहेको धारणा राख्नुभयो । “संसद्को बैठक आह्वान गरेको बेला अध्यादेश ल्याएको होइन, संसद् अधिवेशन सञ्चालन नभएका बेला ल्याइएको हो”, उहाँले भन्नुभयो, “संविधानमा संसद् सञ्चालनमा नरहेको बेला अध्यादेश ल्याउने कुरा स्वभाविक रूपमा उल्लेख गरिएको छ । सोहीअनुसार अध्यादेश ल्याइएको हो ।”
बैठकमा पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूको सहभागिता रहेको थियो ।