काठमाडौँ, २ माघः काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा जोड दिनुपर्ने बताएकी छन् ।
बुधबार काठमाडौँमा काठमाडौँ महानगरपालिकाले आयोजना गरेको २७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।
उपप्रमुख डंगोलले निर्माण गरिरहेका संरचनाहरू भूकम्प प्रतिरोधी छन् की छैनन् र पूर्व तयारी कस्तो छ भनेर अहिले मूल्याङ्कन गर्ने समय भएको बताइन् । उनले भूकम्प प्रतिरोधी संरचना नभए आगामी दिनमा ठूलो क्षति व्यहोर्नुपर्ने भन्दै विशेष ध्यान दिन जरुरी रहेको बताइन् । आफूले गरेका कामहरूको मूल्याङ्कन गरेर भूकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा उनको जोड छ ।
उहाँले भने, ‘हामीले बनाइरहेको संरचनाहरू भूकम्प प्रतिरोधात्मक छन् की छैनन् ? हामीले पूर्व तयारीमा कति ध्यान पुर्याइरहेका छौँ र पूर्व तयारीमा हामीले अघि पनि महत्त्वपूर्ण कुरा गरिसक्नुभएको छ । कम्युनिटी सबैभन्दा पहिला रेस्पोण्डर हुनुपर्छ । हामीले गरिरहेका कामहरूको मूल्याङ्कन गर्ने समय पनि हो यो ।’
विसं १९९० माघ २ गतेका दिउँसो २:२४ बजेको भूकम्पको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष आजको दिनलाई भूकम्प सुरक्षा दिवसका रुपमा मनाइँदै आइएको छ ।