मङ्गलबार, माघ ०१, २०८१

चीनले अमेरिकी ‘टिकटक’ एलन मस्कलाई बेच्ने सम्भावना खोज्दै


काठमाडौं, १ माघः  चिनियाँ अधिकारीहरूले भिडियो–सेयरिङ प्लेटफर्म टिकटकले चीनबाट तत्काल विनिवेश गर्नुपर्ने अमेरिकी कानूनको सामना गरिरहेको बेला अर्बपति एलन मस्कलाई अमेरिकी टिकटक सञ्चालन बेच्ने सम्भावना खोजिरहेको ब्लुमबर्ग न्युजले सोमबार रिपोर्ट गरेको छ ।

यस मामिलासँग परिचित अज्ञात व्यक्तिहरूलाई उद्धृत गर्दै रिपोर्टले बेइजिङमा छलफल भइरहेको एउटा परिदृश्यलाई उल्लेख गरेको छ । त्यहाँ मस्कको सोशल मिडिया कम्पनी एक्सले चिनियाँ मालिक बाइटडान्सबाट टिकटक खरीद गर्नेछ र यसलाई पहिले ट्विटर भनेर चिनिने प्लेटफर्ममा एकीकृत गर्नेछ ।

रिपोर्टले टिकटकको अमेरिकी सञ्चालनको मूल्य ४० देखि ५० अर्ब डलरको बीचमा रहेको अनुमान गरेको छ । यद्यपि मस्क हाल विश्वको सबैभन्दा धनी व्यक्तिका रूपमा रहे पनि मस्कले लेनदेन कसरी कार्यान्वयन गर्न सक्नुहुनेछ वा उहाँलाई अन्य सम्पत्तिहरू बेच्नु पर्ने हो कि होइन भन्ने स्पष्ट नभएको ब्लुमबर्गले बताएको छ ।

अमेरिकी सरकारले गत वर्ष एउटा कानून पारित गरेको थियो । उक्त कानूनअनुसार टिकटकको बाइटडान्सलाई या त अत्यन्त लोकप्रिय प्लेटफर्म बेच्न वा बन्द गर्न आवश्यक छ । राष्ट्रपति–निर्वाचित डोनाल्ड ट्रम्पले पदभार ग्रहण गर्नुभन्दा एक दिनअघि यो आइतबार लागु हुनेछ ।

अमेरिकी सरकारले टिकटकले बेइजिङलाई डाटा सङ्कलन गर्न र प्रयोगकर्ताहरूको जासुसी गर्न अनुमति दिएको आरोप लगाएको छ र यो प्रचार प्रसारको माध्यम हो । चीन र बाइटडान्सले ती दावीलाई कडा रूपमा अस्वीकार गरेका छन् । टिकटकले अमेरिकी सर्वोच्च अदालतमा अपिल गर्दै कानूनलाई चुनौती दिएको छ । अदालतले शुक्रबार मौखिक तर्क सुनेको थियो । सुनुवाइमा नौ सदस्यीय बेन्चका बहुमत कन्जरभेटिभ र लिबरल न्यायाधीशहरू बिक्री गर्न बाध्य पार्नु पहिलो संशोधनको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको उल्लङ्घन हो भन्ने टिकटकका वकिलको तर्कप्रति शङ्कास्पद देखिएका थिए ।

चिनियाँ अधिकारीहरूले कसरी अघि बढ्ने भन्नेमा अझै सहमति जुटाउन बाँकी रहेको उल्लेख गर्दै ब्लुमबर्गले बेइजिङको सम्भावित मस्क कारोबारको विचारलाई ‘अझै प्रारम्भिक’ का रूपमा वर्णन गरेका छन् । चिनियाँ सरकारको योजनाका बारेमा बाइटडान्सलाई कति थाहा थियो भन्ने स्पष्ट नभएको अधिकारीहरूले बताए । टिकटकले टिप्पणीका लागि एएफपीको अनुरोधलाई तुरुन्तै जवाफ दिएन तर भेराइटीले एक प्रतिनिधिलाई उद्धृत गर्दै भनेको छ, “हामीलाई शुद्ध काल्पनिक कुरामा टिप्पणी गर्न अपेक्षा गर्न सकिँदैन ।

ट्रम्पका निकट सहयोगी मस्कले आगामी चार वर्षमा वासिङ्टनमा प्रभावशाली भूमिका खेल्ने अपेक्षा गरिएको छ । उहाँले विद्युतीय कार कम्पनी टेस्ला पनि चलाउनुहुन्छ । टेस्लाको चीनमा प्रमुख कारखाना छ र देश अटो निर्माताको सबैभन्दा ठूलो बजारहरूमध्ये एक हो।

ट्रम्पले चिनियाँ वस्तुहरूमा नयाँ शुल्क लगाउने बारम्बार धम्की दिनुभएको छ । यसले उहाँको पहिलो कार्यकालमा सुरु भएको व्यापार युद्धलाई विस्तार गर्नेछ । यसलाई निवर्तमान राष्ट्रपति जो बाइडेनले मोटामोटी कायम राख्नुभयो र केही मामलामा थप गर्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading