काठमाडौँ, २९ पुसः भिडियो सेयरिङ प्लाटफर्म टिकटकले अमेरिकामा दायर गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छँदै कतिपय अर्बपतिले आफू टिकटक किन्न तयार रहेको बताउन थालेका छन् । शार्क ट्यांक अमेरिकाका लगानीकर्ता केभिन ओलियरी, अर्बपति फ्र्यांक म्याककर्ट जस्ता प्रख्यात अर्बपतिले टिकटकको अमेरिकी स्वामित्व खरिद गर्न इच्छा प्रकट गरेका हुन् ।
टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्ससँग यो एप किनेर अमेरिकाका प्रयोगकर्ताको डेटा अमेरिकामै बनेको डिजिटल पूर्वाधारमा संग्रृहीत गर्ने म्याककर्टको भनाइ छ । लस एन्जलस डजर्सका पूर्वमालिकसमेत रहेका म्याककर्ट नेतृत्वको समूहले गत साता मात्रै बाइटडान्सलाई पत्र पठाएर खरिद सम्झौताबारे विचार गर्न भनेको थियो । खरिद सम्झौता सफल भएमा यो प्लाटफर्म लाखौँ प्रयोगकर्ताका लागि जीवित रहने म्याकर्टले बताएका छन् ।
त्यस्तै, अर्बपति ओलियरीले पनि २० प्रतिशत चिनियाँ स्वामित्व कायम राखेर अमेरिकी नागरिक रहेको सञ्चालक समिति र नेतृत्व मातहत टिकटक सञ्चालन गर्ने प्रस्ताव अघि सारेका छन् । उनले म्याककर्टसँगै मिलेर किन्न तयार रहेको पनि बताएका छन् । एनबीसी न्युजका अनुसार डोनाल्ड ट्रप्पको अघिल्लो राष्ट्रपतीय कार्यकालमा अर्थमन्त्रीसमेत रहेका बैंकर स्टेभन म्युचिनले समेत टिकटक किन्ने सम्भावित लगानीकर्ताको समूह तयार रहेको बताएका थिए । त्यो समूहमा को छ भनेर उनले खुलाएका छैनन् ।
एक्टिभिजन ब्लिजर्डका बबी कोटिक, अनलाइन भिडियो प्लाटफर्म रुम्बलका प्रमुख क्रिस पाब्लोब्स्की लगायतले पनि टिकटक खरिदमा रुचि देखाएका छन् ।अमेरिकामा टिकटक प्रयोगकर्ताको संख्या १७ करोड छ । सन् २०२५ मा बाइटडान्सले टिकटकमार्फत लगभग १० अर्ब अमेरिकी डलर आम्दानी गर्न सक्ने विश्लेषकहरूको अनुमान छ ।
खरिदकर्ता इच्छुक भए पनि बाइटडान्सले टिकटकको बिक्री सम्भव नभएको प्रतिक्रिया दिँदै आएको छ । चीन सरकारले पनि टिकटक बिक्री गर्न नदिने संकेत गरेको द न्युयोर्क टाइम्सले जनाएको छ । ‘बेइजिङले माने नै पनि टिकटक र यसको महत्त्वपूर्ण अल्गोरिदमको मूल्य निकै महँगो छ,’ टाइम्सकी पत्रकार लरेन हर्सले लेखेकी छन्, ‘सीबी इन्साइट्स रिसर्च संस्थाले बाइटडान्सको मूल्यांकन २२५ अर्ब डलर गरेको छ । तथापि टिकटकको अमेरिकी भर्सनको मूल्य कति पर्छ भन्ने स्पष्ट छैन ।’
आउँदो साताभित्र अमेरिकामा टिकटकका विषयमा छिनोफानो हुँदै छ । शुक्रबार भएको पछिल्लो सुनुवाइमा सर्वोच्च अदालतले टिकटकले जिकिर गरेका चुनौतीहरूप्रति शंका व्यक्त गर्दै अमेरिकी सरकारको धारणातर्फ झुकाव राखेको थियो । यसले पनि जनवरी १९ पश्चात अमेरिकामा टिकटक प्रतिबन्ध नै हुने सम्भावनातर्फ बढी संकेत गरेको छ । टिकटकले अमेरिकी प्रतिबन्ध उल्टाउने अन्तिम प्रयास स्वरुप सर्वोच्चमा मुद्दा हालेको थियो ।
अमेरिकी सरकार र टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्स बीच अभिव्यक्ति स्वतन्त्रता र राष्ट्रिय सुरक्षा चिन्ताका विषयमा लामो समयदेखि कानुनी विवाद चलिरहेको छ । गत अप्रिलमा अमेरिकी सरकारले बाइडान्सलाई टिकटकको अमेरिकी शेयर बेच्न वा प्रतिबन्धको सामना गर्न जनवरी १९ को समयसीमा तोक्दै एक कानुन पारित गरेको थियो । यही कानुन उल्ट्याउने उदेश्यले बाइटडान्स सर्वोच्च पुगेको हो ।
टिकटकले अमेरिकी प्रयोगकर्ताको डेटा संकलन गरेर चिनियाँ सरकारलाई दिने आशंकासहित अमेरिकी सांसद्हरूले गत वर्ष अप्रिलमा टिकटक प्रतिबन्धसम्बन्धी विधेयक पारित गरेका थिए । राष्ट्रपति बाइडेनले तुरुन्तै हस्ताक्षर गरेर त्यसलाई कानुनी रूप दिए । बाइटडान्स र टिकटक प्रयोगकर्ताहरूले भने सो कानुनको संवैधानिकतामा प्रश्न उठाउँदै आएका छन् । एप प्रतिबन्धले अभिव्यक्ती स्वतन्त्रताको अधिकारलाई उल्लंघन गर्ने उनीहरूको दाबी छ ।
हाल राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ‘टिकटकलाई बचाउने’ प्रतिबद्धता दिएका थिए जब कि उनैले आफ्नो अघिल्लो कार्याकालमा सन् २०२० अगस्टमा एक कार्यकारी आदेश जारी गरी टिकटक र विच्याट गैरचिनियाँ उद्यमीलाई बिक्री नगरिए प्रतिबन्ध लगाइने घोषणा गरेका थिए । तर त्यो आदेश कार्यान्वयनको केही घण्टा मात्र अघि एक अमेरिकी संघीय न्यायाधीशले उक्त आदेश अमेरिकी संविधानको पहिलो संशोधविपरीत भएको भन्दै रोक्ने आदेश दिएका थिए । यसपटक उनी राष्ट्रपतीका रूपमा ह्वाइट हाउस छिर्नुअघि नै अमेरिकामा टिकटकको भविष्यबारे टुंगो लाग्ने निश्चित छ ।