आइतबार, पुष २८, २०८१

कुर्स्क क्षेत्रबाट दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिइएको युक्रेनको दावी


काठमाडौँ, २८ पुसः युक्रेनले कुर्स्क क्षेत्रबाट दुई उत्तर कोरियाली सैनिक नियन्त्रणमा लिएको युक्रेनी सेनाले दावी गरेको छ ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनालाई उद्धृत गर्दै रूस र युक्रेनबीच जारी द्वन्द्वबीच कुर्स्क क्षेत्रमा दुई जना उत्तर कोरियाली सैनिकलाई नियन्त्रणमा लिइएको बताउनुभएको हो ।

युक्रेनी राष्ट्रपतिले जेलेन्स्कीले भन्नुभयो, “हाम्रा सैनिकहरूले कुस्र्क क्षेत्रमा उत्तर कोरियाली सैनिकहरूलाई पक्राउ गरेका छन्। उनीहरू घाइते अवस्थामा रहेको र उनीहरूलाई आवश्यक अनुसन्धानका लागि किएभ लगिएको छ । उनीहरूले अहिले युक्रेनी सुरक्षा निकायसँग कुराकानी गरिरहेका छन्।

युक्रेनी राष्ट्रपतिले जेलेन्स्कीले युक्रेनको ‘स्पेशल अपरेशन फोर्सेज’को ट्याक्टिकल ग्रुप नम्बर ८४ का सैनिक र प्याराट्रूपर्सले उत्तर कोरियाली सैनिकलाई सफलतापूर्वक कब्जा गरेकोमा आभार व्यक्त गर्नुभयो । रूसी सेना र उत्तर कोरियाली सेनाले द्वन्द्वमा उत्तर कोरियाको संलग्नताको प्रमाण रोक्नका लागि आफ्ना घाइतेलाई मृत्युदण्ड दिने गरेको उल्लेख गर्दै उहाँले यस कारबाहीमा संलग्न चुनौतीबारे प्रकाश पार्नुभएको छ ।

उहाँले भन्नुभयो, “यो सजिलो काम थिएन। रुसी सेना र अन्य उत्तर कोरियाली सैन्य कर्मीहरूले युक्रेनविरुद्धको युद्धमा उत्तर कोरियाको संलग्नताको कुनै पनि प्रमाण मेटाउन सामान्यतया आफ्ना घाइतेहरूलाई गोली हानी हत्या गर्ने गरेका छन् ।

यी दुई व्यक्तिहरूलाई पक्राउ गर्न सफल युक्रेनको सशस्त्र बलको विशेष अपरेशन बलको ‘ट्याक्टिकल ग्रुप नम्बर ८४’ का सैनिकहरू र हाम्रा प्याराट्रूपरहरू प्रति म आभारी छु,” उहाँले भन्नुभयो ।

युद्धबन्दीका रूपमा दुई उत्तर कोरियाली सैनिकले चिकित्सा सहायता प्राप्त गरिरहेको बताउँदै जेलेन्स्कीले युक्रेनको सुरक्षा निकायलाई पत्रकारहरूलाई कैदीहरूसम्म पहुँच प्रदान गर्न निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, “सबै युद्धबन्दीजस्तै यी दुई उत्तर कोरियाली सैनिकले पनि आवश्यक चिकित्सा सहायता प्राप्त गरिरहेका छन् । मैले युक्रेनको सुरक्षा सेवालाई पत्रकारहरूलाई यी कैदीहरूसम्म पहुँच प्रदान गर्न निर्देशन दिएको छु।

विश्वले के भइरहेको छ भन्ने सत्य जान्न आवश्यक छ र यसबाट यो जानकारी मिल्नेछ,” उहाँले थप्नुभयो ।

युक्रेनी र पश्चिमी आँकलनअनुसार, युक्रेनी सेनाले अगस्त २०२४ मा सीमापार आक्रमण गरेपछि धेरै भूभाग कब्जा गरेको कुर्स्कमा करिब ११ हजार उत्तर कोरियाली सैनिकहरूलाई तैनाथ गरिएको छ । यसअघि युक्रेनी सेनाले रूसका लागि लडिरहेका उत्तर कोरियाली सैनिकहरूलाई रूसी नाम र जन्मस्थानसहितको नक्कली सैन्य कागजात दिइएको बताएको सन् २०२४ डिसेम्बर २२ मा अमेरिकी समाचार संस्था सीएनएनले जनाएको थियो ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।




प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading