काठमाडौँ, ९ पुसः सांस्कृतिक संस्थानको आयोजनामा ‘सम्झनामा दिग्गज स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न भएको छ । सिर्जनशील कलामार्फत नेपाली सङ्गीत तथा नाट्य क्षेत्रमा जीवन समर्पण गर्नुभएका दिवङ्गत राष्ट्रिय कलाकारहरुको सम्झनामा सोमबार उक्त कार्यक्रम गरिएको हो । कार्यक्रममा विभिन्न नौ स्रष्टाको स्मरणमा संस्थानका कर्मचारीले सम्मानार्थ गीत प्रस्तुत गरेका थिए ।
वरिष्ठ नृत्य निर्देशक भैरवबहादुर थापाले दिग्गज र पुराना स्रष्टालाई स्मरण गरिनु सुखद भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यस किसिमको कार्यक्रम पहिले हुनुपर्थ्यो, ढिला भए पनि राम्रो कुराको सुरुआत भएको छ । संस्कृतिकर्मी र कलाकारलाई यस संस्थानले स्मरण गर्नुपर्छ । यसले स्रष्टालाई सम्मान दिनुका साथै नयाँ पुस्तासम्म पु-याएको छ । यो कार्यक्रमलाई निरन्तरता दिनुपर्छ ।”
उक्त कार्यक्रममा गायक जनार्दन सम र गायिका कोइलीदेवीले गाउनुभएको गीत ‘गर्छिन् पुकार आमा’ लाई सामूहिक गायनमार्फत प्रस्तुत गर्दै सुरू गरिएको कार्यक्रममा गायक सेतुराम श्रेष्ठले गाउनुभएको ‘राजमती कुमती’लाई गायक दीपेन्द्र श्रेष्ठ, मेलवादेवीले गाउनुभएको गीत ‘सवारी मेरो रेलैमा’लाई राधिका भण्डारी, गायक हरिप्रसाद रिमालको स्वरबद्ध गीत ‘फगत एक नजर’ लाई शिला विष्ट, गायक वटुककृष्ण ज्वाला (सिलवाल) ले स्वर दिनुभएको ‘ए दूरका सितारा’ लाई विपीन घिमिरेले प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी गायक चन्द्रराज शर्माको स्वर रहेको ‘च्वाट्टै चुँडी’ लाई गायक तीर्थराज पोखरेल, गायक पुष्प नेपाली र गायिका तारादेवीले गाउनुभएको ‘बिदा हुने भैगो बेला’लाई गायक दीपेन्द्र बज्राचार्य र गायिका राधिका भण्डारीले प्रस्तुत गर्नुभयो ।
नेपाली संस्कृति र कलालाई प्रवर्द्धनमा संस्थानले विशेष जोड दिएको महाप्रबन्धक किरणबाबु पुनले बताउनुभयो । उहाँले भन्नुभयो, “संस्कृतिलाई नेपाल आमाको रुपमा बुझ्छु । त्यसैले संस्कृतिसँग नेपालको अस्तित्व जोडिएको छ । सोही कारण हामीले पुराना र अग्रज स्रष्टालाई स्मरण गर्दै यस्ता कार्यक्रम गरेका हौँ ।”
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










