सोमबार, पुष ०८, २०८१

सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा : महासचिव शङ्कर पोखरेल


काठमाडौँ, १० मङ्सिर : नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार देशलाई सङ्कटमुक्त बनाउने अभियानमा लागेको बताउनुभएको छ ।
एमाले निकट नेपाल निर्माण उद्योग परिषद्को केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मुलुकलाई सङ्कटबाट बाहिर निकाल्ने माथि प्रहार हुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । “जसले मुलुकको अर्थतन्त्रलाई सङ्कट पार्दछ, त्यसमाथि प्रहार हुँदैन, जसले सङ्कटबाट मुलुकलाई बाहिर निकाल्न खोज्दछ, त्यस माथि कसरी प्रहार हुन्छ भन्ने अहिले केपी ओलीमाथि भएको प्रहारले बुझ्न सकिन्छ”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले कतिपय निर्माण व्यवसायीहरूले काम गर्नका लागि लिएको ‘मोबिलाइजेशन फण्ड’ नाफा कमाउन जग्गामा लगानी गरेको, जग्गाको कारोबार सङ्कटमा पर्दा निर्माण व्यवसायी पनि सङ्कटमा परेको र यसले गर्दा विकास निर्माण नै रोकिएको बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो, “निर्माण व्यवसायीलाई राज्यले तय गरेको काम गर्न साझा आचारसंहिता बनाएर स्वच्छ प्रतिस्पर्धा गर्नुपर्छ ।” उहाँले अहिलेको समय निर्माण क्षेत्रलाई स्वर्णयुग बनाउन सक्ने युग भएको र मुलकमा औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्र अत्यन्त शक्तिशाली भएको बताउनुभयो ।

एमाले स्थायी कमिटी सदस्य एवं जनसङ्गठन संयन्त्र प्रमुख भानुभक्त ढकालले जनसङ्गठनमा परेको समस्या समाधानमा पार्टीले पहल गर्ने बताउनुभयो । एमालेका केन्द्रीय सदस्य तथा भौतिक पूर्वाधार तथा यातायात विभागका पूर्वप्रमुख डा कृष्णबहादुर केसीले निर्माण व्यवसायमा समस्या आउँदा सबै क्षेत्रमा समस्या आउने गरेको उल्लेख गर्नुभयो ।

नेपाल उद्योग तथा व्यवसायी महासङ्घका महासचिव बालकृष्ण सिवाकोटीले एमालेको सरकार बनेको बेलामा धेरैतिर निर्माणका काम सुरु हुने र एमाले सरकारबाट बाहिरिएपछि निर्माण व्यवसायमा समस्या आउने गरेको बताउनुभयो ।

लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका अध्यक्ष होमनाथ कोइरालाले सरकार र निर्माण व्यवसायीको हितमा मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो । निर्माण व्यवसायी महासङ्घका महासचिव रोशन दाहालले व्यवसायीले भुक्तानी नपाएको कारण मर्कामा परेकाले पार्टीको तर्फबाट सरकारसम्म सो कुरा पु¥याउन आग्रह गर्नुभयो ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading