सोमबार, पुष ०८, २०८१

एक लाख १५ हजार प्रयोगकर्ताहरु सोसल मिडिया प्लाटफर्म एक्सबाट बाहिरिए


५ मङ्सिर, काठमाडौँ । अमेरिकी राष्ट्रपति चुनावमा एलन मस्कले डोनाल्ड ट्रम्पलाई समर्थन तथा सहयोग गरे । चुनाव जितेर ट्रम्प अमेरिकाको ४७औं राष्ट्रपति बन्दैछन् । ट्रम्पको जितसँगै एलन मस्कको कुल सम्पत्ति उकालो मात्र लागेन ट्रम्प सरकारमा मस्कले निकै महत्वपूर्ण जिम्मेवारी पनि पाएका छन् । तर, सामाजिक सञ्जालको हकमा भने ट्रम्पलाई गरेको समर्थन मस्कका लागि महँगो सावित भएको छ ।

रिपोर्ट अनुसार ट्रम्पको जित पश्चात् एक लाख १५ हजार प्रयोगकर्ताहरु सोसल मिडिया प्लाटफर्म एक्सबाट अलग्गिएका छन् । मस्कले सन् २०२२ मा एक्स (तत्कालीन ट्वीटर) खरिद गरेयता एकैपटकमा यतिधेरै प्रयोगकर्ता बाहिरिएको यो पहिलो घटना हो । सिएनएनका अनुसार एलन मस्क स्वामित्वको एक्सबाट ठूलो संख्यामा प्रयोगकर्ताहरु ब्लुस्काई लगायतका प्लाटफर्मतर्फ सरिरहेका छन् ।

चुनावको अर्को दिनमै एक लाख १५ हजार भन्दा धेरै अमेरिकी एक्स प्रयोगकर्ताले आफ्नो एक्स अकाउन्ट डिएक्टिभेट गरेको रिपोर्टमा उल्लेख छ । यो तथ्यांक केवल वेबसाइटको माध्यमबाट अकाउन्ट निस्क्रिय पार्ने प्रयोगकर्ताको मात्रै हो, जसमा मोबाइल एप प्रयोगकर्ताको डेटा सामेल छैन । सिएनएनले डिजिटल इन्टेलिजेन्स प्लाटफर्म Similarweb को रिपोर्टलाई उधृत गर्दै उक्त समाचार तयार पारेको हो ।

वास्तवमा एलन मस्कले एक्स प्लाटफर्मको प्रयोग गरेरै महिनौंसम्म डोनाल्ड ट्रम्पको समर्थन तथा प्रचार गरे । यसबीच ब्लुस्काईका प्रयोगकर्ताको संख्या ९० दिनमा दोब्बर भएको छ । एक हप्तामै १० लाख नयाँ प्रयोगकर्तासँगै ब्लुस्काईका कूल प्रयोगकर्ताको संख्या डेढ करोड पुगेको छ ।

अमेरिकी चुनावयता धेरैजना कलाकार, निर्देशक, संगीतकर्मी तथा पत्रकारहरुले एक्स प्लाटफर्म छाडेर ब्लुस्काईमा खाता खोलेका छन् । उता बेलायती पत्रिका द गार्जियन तथा स्पेनी पत्रिका ला भ्यांगुआर्डियाले पनि एक्स प्लाटफर्ममा समाचार पोस्ट गर्न बन्द गरेका छन् ।

शोधकर्ताहरुका अनुसार एक्स प्लाटफर्ममा महिलाहरुप्रति अपमानजनक भाषाको प्रयोगमा बढोत्तरी देखिएको छ, जसमा ‘तिम्रो शरीर मेरो रोजाइ’ जस्ता लैंगिक विभेदयुक्त शब्द सामेल छन् ।

के हो ब्लुस्काई ?

ट्वीटरका पूर्वसीईओ ज्याक डोर्सीले गत वर्ष फेब्रुअरीमा लञ्च गरेको सोसल मिडिया प्लाटफर्म हो, ब्लुस्काई । लञ्च भएको एकवर्ष पछि मात्रै यसले आम प्रयोगकर्ताका लागि रजिस्ट्रेसन खुल्ला गरेको थियो र प्रयोगकर्ताले ब्लुस्काईमा खाता खोल्न पाएका थिए । त्यसयता यो प्लाटफर्मले व्यापक चर्चा कमाएको छ र विद्यमान पारम्परिक सोसल मिडिया प्लाटफर्मको विकल्प खोज्न चाहने प्रयोगकर्ताको रोजाइमा परेको छ ।

पारम्परिक सोसल मिडिया प्लाटफर्मभन्दा फरक ब्लुस्काई विकेन्द्रित फ्रेमवर्कमा निर्मित छ, जसलाई अथेन्टिकेटेड ट्रान्सफर प्रोटोकल भनिन्छ । यसमा नेटवर्कलाई कुनै एउटा मात्रै निकायले नियन्त्रण गर्दैन, जसका कारण आफ्नो डेटामा प्रयोगकर्तालाई बढी स्वतन्त्रता रहन्छ । यद्यपि यसका अधिकांश फिचर भने साविक ट्वीटरका जस्तै छन् । हालका लागि ब्लुस्काई नि:शुल्क हुनुका साथै विज्ञापनमुक्त रहेको छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading