मङ्गलबार, पुष ०९, २०८१

एमालेको जागरण सभा तयारीका लागि संयोजन समिति गठन


२८ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको जागरण सभा तयारीका लागि संयोजन समिति गठन गरेको छ । नेकपा (एमाले) काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा मङ्सिर ७ गते काठमाडौँमा हुने जागरण सभाको तयारीका लागि आज बसेको बैठकले ११ सदस्यीय संयोजन समिति गठन गर्ने निर्णय गरेको हो ।

पार्टी महासचिव शङ्कर पोखरेलको उपस्थितिमा पार्टी केन्द्रीय कार्यालयमा उपत्यका मातहत कमिटी, जनसङ्गठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले सभालाई भव्य र सुव्यवस्थित गर्नका लागि पार्टीको बागमती प्रदेश इन्चार्ज डा राजन भट्टराईको संयोजकत्वमा जागरण सभा संयोजन समिति गठन गरेको छ । समितिको सहसंयोजक जिम्मा पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेललाई दिइएको छ ।

समितिका सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेबे, शमिक बडाल र जनक चौधरी रहनुभएको छ । जागरणसभा संयोजन समितिको आजै बसेको प्रथम बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको समितिका संयोजक डा भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading