मङ्गलबार, पुष ०९, २०८१

बेतका फर्निचरबाट मासिक ५० हजार आम्दानी


२३ कात्तिक, सुनसरी। इटहरी उपमहानगरपालिका–७ का ६२ वर्षीय राजकुमार श्रेष्ठले विगत २१ वर्षदेखि बेतका फर्निचर बनाएर जीवन गुजारा गरिरहनुभएको छ । परिश्रमी उहाँले भारतको सिलगुडीबाट बेत ल्याएर फर्निचर बनाउँदै आउनुभएको छ ।

उहाँले भन्नुभयो, “बेतका सामान बनाउने र बिक्री गर्दै आएको २२ वर्ष भयो । फर्निचर महँगो भए पनि यसको बजार छ । इटहरी, तरहरा र मोरङको पथरीसम्म बिक्री गर्दै आएको छु, ती स्थानमा मात्र बिक्री गर्दा खर्च कटाएर मासिक रु ५० हजारसम्म बचाउन सकिन्छ ।

बेतबाट बनेका डोका, डाला, नाङ्लो मुढा, कोक्रोलगायत फर्निचरमा ग्राहकको आकर्षण बढिरहेको छ । उहाँले भन्नुभयो, “बेतको फर्निचर आकर्षक र टिकाउ भएकाले ग्राहकको रोजाइमा आफ्ना उत्पादन परेका छन् ।” उहाँले सजावटका सामान पनि बनाउन थाल्नुभएको छ । ती सामानको उच्च माग रहेकाले आफू त्यसमा नै बढी व्यस्त हुने गरेको बताउनुभयो । हाल उहाँको पसलमा १२ प्रकारका बेतका सामान बिक्रीमा छन् ।

बेतबाट बनेका सजावटका सामान रु सात सयदेखि रु १६ हजार सम्ममा बिक्री हुने गरेका छन् । सिलगुडीबाट एक बण्डल बेतलाई रु तीन हजार पाँच सय पर्ने गरेका छन् । एक बण्डल बेतबाट पाँचवटासम्म सामान बनाउन सकिने भएकाले आफूलाई घाटा नभएको उहाँले बताउनुभयो ।

राजकुमारजस्तै धरान–९ का पर्शु तामाङले पनि बेतका सामग्री बेचेर मनग्ये आम्दानी गर्नुभएको छ । एघार वर्षदेखि बेतका फर्निचर बनाउँदै आउनुभएका उहाँले मासिक रु ८० हजारसम्म आम्दानी हुने गरेको बताउनुभयो । उहाँले कोक्रो, सोफा, डाइनिङ टेबल, कुर्सी, मुढा, ह्याङ्गर, धाकी, गमला र्याकलगायत सामान बनाउने गर्नुभएको छ ।

उहाँले भन्नुभयो, “बेतको सामान बनाउन जो-कोहीले सक्दैनन्, त्यसैले भारतीय कालीगढ राखेर काम गरिरहेको छु, बिक्रीको समस्या छैन । बेतको सामान १० देखि २५ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

हातमा सीप भए रोजगारीका लागि विदेशिनु नपर्ने तथा स्वदेशमै व्यवसाय गर्न उहाँ युवापुस्तालाई प्रेरित गर्नुपर्नेमा जोड दिनुहुन्छ ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..

Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading