सोमबार, पुष ०८, २०८१

कुल श्रमशक्तिको १५ प्रतिशत मात्र विदेशी कामदार हुने गरी तोकेको कोटालाई मलेसियाको पुनः निरन्तरता


२२ कात्तिक, काठमाडौं । कुल श्रमशक्तिको १५ प्रतिशत मात्र विदेशी कामदार हुने गरी तोकेको कोटालाई मलेसियाले निरन्तरता दिएको छ । १ जुन २०२४ (१८ जेठ २०८१) देखि तोकिएको विदेशी श्रमिकको कोटालाई मलेसियाले १५ सेप्टेम्बरको समीक्षापछि पनि पुनः निरन्तरता दिएको हो ।

मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइलले सरकारले तोकेको भन्दा देशमा विदेशी कामदारको संख्या धेरै रहेकाले यो निर्णयलाई निरन्तरता दिइएको बताए । ‘विदेशी कामदारहरूलाई काममा राख्न तोकिएको कोटा अर्को सूचना नभएसम्म जारी रहनेछ’, उनले मलेसियाली सञ्चार माध्यमहरुसँग भनेका छन् ।

मलेसिया प्रमुख श्रम गन्तव्य नेपालजस्ता देशलाई यो निर्णयले अप्ठेरो परेको छ । गत जेठयता मलेसियामा नेपाली श्रमिक रोजगारीका लागि जान पाएका छैनन् । मलेसियाको अर्थ मन्त्रालयका अनुसार कुल १ करोड ७० लाख श्रमशक्तिमध्ये विदेशी कामदारलाई १५ प्रतिशतमा सीमित गर्ने नीति लिइएको छ । मलेसिया सरकारले यसअघि स्वीकृत कोटाभित्र आप्रवासी कामदार ल्याउन बाँकी कम्पनीहरूलाई मे ३१ सम्मको समय दिएको थियो ।

मलेसियामा अहिले २० लाखभन्दा बढी आप्रवासी कामदार रहेको अनुमान छ, त्यसमध्ये ५ लाखभन्दा बढी नेपाली नै रहेको अनुमान छ । नेपालको जस्तै मौसम भएका कारणले धेरै अदक्ष श्रमिकले मलेसियालाई रोज्ने गरेका थिए । रोक नलाग्दासम्म औसत मासिक ८ हजार नेपाली अहिले पनि मलेसिया पुगिरहेका थिए । नेपालको मुख्य श्रम गन्तब्यको सूचीमा मलेसिया यूएईपछि दोस्रो स्थानमा थियो ।

मलेसियाबाट श्रमिकको माग आउन बन्द भएपछि धेरै नेपालीले रोजगारीको गन्तव्यको विकल्प खोजिरहेका छन् । पछिल्लो समयमा युरोपेली देशमा नेपाली श्रमिकको माग बढिरहेको छ । यसअघि मलेसिया जाने कामदारमाथि विभिन्न बहानामा थप शुल्क लगाएर ठगी गरेको भन्दै नेपाल सरकारले १२ जेठ २०७५ मा मलेसियाका लागि श्रम स्वीकृति दिन रोकेको थियो । तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले ठगी गर्नेमाथि कारबाही अभियान चलाएका थिए ।

११ कात्तिक २०७५ मा मलेसिया जाँदा एक रुपैयाँ पनि शुल्क तिर्नु नपर्ने र लागेको सबै शुल्क रोजगारदाताले नै ब्यहोर्ने गरी मलेसिया सरकारसँग श्रम समझदारी भएको थियो । तर मलेसियाले पुराना भेन्डरमार्फत नयाँ कामदारको भिसा प्रक्रिया अघि बढाउन चाहेपछि समझदारीमा हस्ताक्षर भएको १० महिनासम्म रोजगारी खुलेको थिएन । यसले मलेसियाको रोजगारीमा ठूलो संकट निम्तिएको थियो ।

सरकारले २९ भदौ २०७६ मा १५ महिनापछि कामदारको हित अनुकुल हुने ग्यारेन्टी गर्दै मलेसियाको रोजगारी खुला गरेको थियो । त्यसपछि कोरोना महामारीले बिथोलिएको मलेसियाको श्रम बजारमा पछिल्ला २ वर्षमा धेरै माग सिर्जना भएको थियो । माग बढेसँगै नेपालबाट पनि ठूलो संख्यामा मलेसियामा युवाहरु रोजगारीका लागि मलेसिया पुगेका थिए । तर, फेरि विदेशी श्रमिकको कोटा तोक्ने निर्णयले मलेसियामा राम्रो अवसर पाएका श्रमिकहरु करार अवधि सकेर फर्किएपछि फेरि जान नपाउने चिन्ता बढेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङ मलेसियाले विदेशी श्रमिकको कोटा तोक्ने नीति लिएपछि नेपाली श्रमिकले सहज श्रम गन्तव्य गुमाएको बताउँछन् । सरकारले यसतर्फ ध्यान दिनुपर्ने भन्दै उनले मलेसियाको सम्भाव्य क्षेत्रहरुमा नेपाली श्रमिकहरुले प्राथमिकता साथ अवसर पाउनुपर्ने विषयलाई सरकारले जोडका साथ उठाउनुपर्ने बताए ।

अहिले मलेसिया बन्द छ, विकल्पमा अन्य देशमा श्रमिकहरु गइरहेका छन्’, उनले भने, ‘तर, सरकारले सबै ठाउँका सम्भाव्य रोजगारीका अवसर नेपालीहरुले प्राथमिकता साथ पाउने गरी पहल गर्नुपर्छ ।


Discover more from सेतोप्रेस - डिजिटल अनलाइन समाचार पत्र -

Subscribe now to keep reading and get access to the full archive.

Continue reading