काठमाडौँ, माघ १८ : भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ । मन्त्रालय अन्तर्गतको महामारी तथा रोग नियन्त्रण विभागले निपाह भाइरसको परीक्षण सम्बन्धी निर्देशिका जारी गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शंकास्पद बिरामी भेटिए वा पहिचान र परीक्षण गर्न विभागले मापदण्ड तय गरेको बताए । ‘निपाह र सामान्य रुखाखोकीको लक्षण मिल्दोजुल्दो छ, जसको पनि परीक्षण गर्ने कुरा भएन,’ उनले भने, ‘परीक्षणका लागि शंकास्पद बिरामी पहिचानदेखि परीक्षणको मापदण्ड बनाएका छौं ।’
गत साता भारतको पश्चिम बंगाल राज्यको उत्तर २४ परगनामा दुई जनामा निपाह भाइरस पुष्टि भएको थियो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय अन्तर्गतको केन्द्रीय रोग नियन्त्रण केन्द्रले दुई जनामा संक्रमण पुष्टि हुनासाथ उच्च सावधानी अपनाइएको र थप केसहरू फेला नपरेको जनाएको छ ।

साथै संक्रमित दुई जनाको सम्पर्कमा आएका १९६ जनाको स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा भाइरसको संक्रमण देखिएको पनि केन्द्रले जनाएको छ । ‘शंका लागेकाहरूलाई निगरानीमा राख्ने, पहिचानका लागि प्रयोगशालामा परीक्षण गरिनुका साथै निरन्तर निगरानी गरिएको र सार्वजनिक स्वास्थ्यका सबै आवश्यक उपायहरू अवलम्बन गरिएको छ’ केन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
पश्चिम बंगालको सीमा कोशी प्रदेशसँग जोडिएले नेपालमा पनि उच्च जोखिमको सम्भावना रहेको औंल्याउँदै परीक्षणको व्यवस्था गर्न माग भएको थियो । नेपालमा पनि जोखिम भएकाले सतर्कता अपनाउन सर्कुलर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीन कारणले नेपालमा संक्रमण फैलन सक्ने जोखिम रहेको मन्त्रालयका चिकित्सकहरू बताउँछन् ।

खुला सीमानाकाबाट आउजाउ गर्ने मानिस, फलफूल खाने चमेरो र सुँगुर लगायत घरपालुवा जनावर यता पनि पाइने हुँदा उच्च जोखिम रहेको जनाइएको छ । ‘उच्च जोखिम छ । तर यहाँ फैलिसकेको छैन । अहिलेसम्म नेपालमा भित्रिएको पुष्टि पनि भएको छैन । शंकास्पद व्यक्ति पनि फेला परेका छैनन्,’ डा. बुढाथोकीले भने । यद्यपि भारतमा भाइरल फैलिएकाले अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड अनुसार सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भाइरस फैलिन सक्ने जोखिमको आकलन गरेर पूर्वतयारी र प्रतिकार्यको तयारी गरिएको उनले बताए । ‘सीमा नाका, हवाई नाकामा निगरानी बढाइएको छ । स्वास्थ्यका हेल्प डेक्सहरू सक्रिय पारिएको छ,’ उनले भने, ‘केन्द्रदेखि प्रदेश अस्पतालमा पीसीआर ल्याब, परीक्षण किट, स्वास्थ्यकर्मीको व्यवस्था र औषधि भण्डार गरिएको छ ।’
परीक्षण निर्देशिकामा एक सातासम्म रुघाखोकी निको नभए वा श्वासप्रश्वासमा समस्या देखिए त्यस्ता बिरामीलाई शंकास्पद रूपमा हेर्नुपर्ने उल्लेख छ । ‘भारतको पश्चिम बंगाल आसपासबाट आएको व्यक्ति वा त्यहाँका व्यक्तिसँग भौतिक रूपमै सम्बन्ध (भेटघाट) भएको व्यक्तिलाई शंकास्पद रूपमा लिएर परीक्षण गर्नु भनेका छौं,’ उनले भने ।

त्यस्ता शंकास्पद व्यक्ति भेटिए कोभिड महामारीको बेला बनाइएको क्वारेन्टाइनमा राखी परीक्षण गर्न मन्त्रालयले सर्कुलर गरेको छ । निर्देशिकामा भनिएको छ, ‘शंकास्पद निपाह केसहरू ती व्यक्तिहरू हुन्, जसको स्वास्थ्य तीव्र गतिमा बिग्रँदै गएको छ वा मृत्यु भएको छ । जसमा ज्वरोसँगै सास फेर्न गाह्रो हुने लक्षणहरू देखिन्छन् । त्यस्ता व्यक्तिहरूसँग महामारी विज्ञानको सम्बन्ध पनि हुनुपर्छ, जस्तै काँचो खजुरको रस पिउने, संक्रमित जनावरहरू, विशेष गरी चमेरोसँग सम्पर्कमा रहेका र निपाहको स्थानीय क्षेत्रहरूमा यात्रा गर्ने इतिहास भएको हुनुपर्छ ।’
निपाह जनावरबाट मानिसमा सर्ने गर्छ । यो एक जुनोटिक भाइरस हो । निपाह कोरोना भाइरसभन्दा धेरै घातक मानिन्छ । यो भाइरसबाट संक्रमित व्यक्तिहरूमा सामान्यतया ३ देखि १४ दिन ज्वरो, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने लक्षणहरू देखा पर्छन् । केही व्यक्तिहरूले मस्तिष्क सुन्निने वा इन्सेफ्लाइटिस पनि अनुभव गर्ने संगठनले जनाएको छ ।

गम्भीर लक्षणहरूमा भ्रम, निद्रा लाग्ने, मूर्च्छा पर्न सक्ने र केही बिरामीहरू २४ देखि ४८ घण्टाभित्र कोमामा जान सक्ने औंल्याइएका छन् । मृत्युदर ४०–७० प्रतिशत रहेको संगठनको भनाइ छ । यसअघि विभागले देशभरका अस्पतालहरूलाई अचानक बिरामीको मृत्यु र निपाह भाइरस जस्तै लक्षणहरू देखिएका बिरामीबारे जानकारी दिन निर्देशन दिएको थियो ।
निपाह भाइरस पहिलो पटक १९९९ मा पहिचान भएको थियो । सुँगुरसँग नजिकको सम्पर्क भएका सिंगापुर र मलेसियाका किसानहरूमा भेटिएको थियो । त्यतिबेला ३ सय जना संक्रमित भएको र तीमध्ये एक सय जनाको मृत्यु भएको रिपोर्ट छ । भारतको पश्चिम बंगालमा २००१ मा पुष्टि भएको थियो । ६६ जनामा भाइरस पुष्टि भएको थियो । ४५ जनाको मृत्यु भएको तथ्यांक छ । २००७ मा पनि पश्चिम बंगालमा ५ जना संक्रमित भेटिएका थिए । २०१८ मा भारतको केरलामा भाइरस फैलिएको थियो । त्यतिबेला संक्रमणका कारण १७ जनाको मृत्यु भयो । पश्चिम बंगालमा १९ वर्षपछि भाइरस पुष्टि भएको हो ।
– सुदीप कैनी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












