02/13/2026, 00:21:58
बिहिबार, माघ २९, २०८२

सरकारद्वारा निपाह भाइरस परीक्षण निर्देशिका जारी

निपाह जनावरबाट मानिसमा सर्ने गर्छ । यो एक जुनोटिक भाइरस हो । निपाह कोरोना भाइरसभन्दा धेरै घातक मानिन्छ । यो भाइरसबाट संक्रमित व्यक्तिहरूमा सामान्यतया ३ देखि १४ दिन ज्वरो, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने लक्षणहरू देखा पर्छन् ।


काठमाडौँ, माघ १८ : भारतको पश्चिम बंगाल राज्यमा निपाह भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले त्यसको परीक्षणसम्बन्धी निर्देशिका जारी गरेको छ । मन्त्रालय अन्तर्गतको महामारी तथा रोग नियन्त्रण विभागले निपाह भाइरसको परीक्षण सम्बन्धी निर्देशिका जारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले शंकास्पद बिरामी भेटिए वा पहिचान र परीक्षण गर्न विभागले मापदण्ड तय गरेको बताए । ‘निपाह र सामान्य रुखाखोकीको लक्षण मिल्दोजुल्दो छ, जसको पनि परीक्षण गर्ने कुरा भएन,’ उनले भने, ‘परीक्षणका लागि शंकास्पद बिरामी पहिचानदेखि परीक्षणको मापदण्ड बनाएका छौं ।

गत साता भारतको पश्चिम बंगाल राज्यको उत्तर २४ परगनामा दुई जनामा निपाह भाइरस पुष्टि भएको थियो । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय अन्तर्गतको केन्द्रीय रोग नियन्त्रण केन्द्रले दुई जनामा संक्रमण पुष्टि हुनासाथ उच्च सावधानी अपनाइएको र थप केसहरू फेला नपरेको जनाएको छ ।

साथै संक्रमित दुई जनाको सम्पर्कमा आएका १९६ जनाको स्वास्थ्य परीक्षण गर्दा उनीहरूमा भाइरसको संक्रमण देखिएको पनि केन्द्रले जनाएको छ । ‘शंका लागेकाहरूलाई निगरानीमा राख्ने, पहिचानका लागि प्रयोगशालामा परीक्षण गरिनुका साथै निरन्तर निगरानी गरिएको र सार्वजनिक स्वास्थ्यका सबै आवश्यक उपायहरू अवलम्बन गरिएको छ’  केन्द्रद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

पश्चिम बंगालको सीमा कोशी प्रदेशसँग जोडिएले नेपालमा पनि उच्च जोखिमको सम्भावना रहेको औंल्याउँदै परीक्षणको व्यवस्था गर्न माग भएको थियो । नेपालमा पनि जोखिम भएकाले सतर्कता अपनाउन सर्कुलर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीन कारणले नेपालमा संक्रमण फैलन सक्ने जोखिम रहेको मन्त्रालयका चिकित्सकहरू बताउँछन् ।

खुला सीमानाकाबाट आउजाउ गर्ने मानिस, फलफूल खाने चमेरो र सुँगुर लगायत घरपालुवा जनावर यता पनि पाइने हुँदा उच्च जोखिम रहेको जनाइएको छ । ‘उच्च जोखिम छ । तर यहाँ फैलिसकेको छैन । अहिलेसम्म नेपालमा भित्रिएको पुष्टि पनि भएको छैन । शंकास्पद व्यक्ति पनि फेला परेका छैनन्,’ डा. बुढाथोकीले भने । यद्यपि भारतमा भाइरल फैलिएकाले अन्तर्राष्ट्रिय स्वास्थ्य मापदण्ड अनुसार सतर्कता अपनाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भाइरस फैलिन सक्ने जोखिमको आकलन गरेर पूर्वतयारी र प्रतिकार्यको तयारी गरिएको उनले बताए । ‘सीमा नाका, हवाई नाकामा निगरानी बढाइएको छ । स्वास्थ्यका हेल्प डेक्सहरू सक्रिय पारिएको छ,’  उनले भने, ‘केन्द्रदेखि प्रदेश अस्पतालमा पीसीआर ल्याब, परीक्षण किट, स्वास्थ्यकर्मीको व्यवस्था र औषधि भण्डार गरिएको छ ।

परीक्षण निर्देशिकामा एक सातासम्म रुघाखोकी निको नभए वा श्वासप्रश्वासमा समस्या देखिए त्यस्ता बिरामीलाई शंकास्पद रूपमा हेर्नुपर्ने उल्लेख छ । ‘भारतको पश्चिम बंगाल आसपासबाट आएको व्यक्ति वा त्यहाँका व्यक्तिसँग भौतिक रूपमै सम्बन्ध (भेटघाट) भएको व्यक्तिलाई शंकास्पद रूपमा लिएर परीक्षण गर्नु भनेका छौं,’ उनले भने ।

त्यस्ता शंकास्पद व्यक्ति भेटिए कोभिड महामारीको बेला बनाइएको क्वारेन्टाइनमा राखी परीक्षण गर्न मन्त्रालयले सर्कुलर गरेको छ । निर्देशिकामा भनिएको छ, ‘शंकास्पद निपाह केसहरू ती व्यक्तिहरू हुन्, जसको स्वास्थ्य तीव्र गतिमा बिग्रँदै गएको छ वा मृत्यु भएको छ । जसमा ज्वरोसँगै सास फेर्न गाह्रो हुने लक्षणहरू देखिन्छन् । त्यस्ता व्यक्तिहरूसँग महामारी विज्ञानको सम्बन्ध पनि हुनुपर्छ, जस्तै काँचो खजुरको रस पिउने, संक्रमित जनावरहरू, विशेष गरी चमेरोसँग सम्पर्कमा रहेका र निपाहको स्थानीय क्षेत्रहरूमा यात्रा गर्ने इतिहास भएको हुनुपर्छ ।

निपाह जनावरबाट मानिसमा सर्ने गर्छ । यो एक जुनोटिक भाइरस हो । निपाह कोरोना भाइरसभन्दा धेरै घातक मानिन्छ । यो भाइरसबाट संक्रमित व्यक्तिहरूमा सामान्यतया ३ देखि १४ दिन ज्वरो, टाउको दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने र सास फेर्न गाह्रो हुने लक्षणहरू देखा पर्छन् । केही व्यक्तिहरूले मस्तिष्क सुन्निने वा इन्सेफ्लाइटिस पनि अनुभव गर्ने संगठनले जनाएको छ ।

गम्भीर लक्षणहरूमा भ्रम, निद्रा लाग्ने, मूर्च्छा पर्न सक्ने र केही बिरामीहरू २४ देखि ४८ घण्टाभित्र कोमामा जान सक्ने औंल्याइएका छन् । मृत्युदर ४०–७० प्रतिशत रहेको संगठनको भनाइ छ । यसअघि विभागले देशभरका अस्पतालहरूलाई अचानक बिरामीको मृत्यु र निपाह भाइरस जस्तै लक्षणहरू देखिएका बिरामीबारे जानकारी दिन निर्देशन दिएको थियो ।

निपाह भाइरस पहिलो पटक १९९९ मा पहिचान भएको थियो । सुँगुरसँग नजिकको सम्पर्क भएका सिंगापुर र मलेसियाका किसानहरूमा भेटिएको थियो । त्यतिबेला ३ सय जना संक्रमित भएको र तीमध्ये एक सय जनाको मृत्यु भएको रिपोर्ट छ । भारतको पश्चिम बंगालमा २००१ मा पुष्टि भएको थियो । ६६ जनामा भाइरस पुष्टि भएको थियो । ४५ जनाको मृत्यु भएको तथ्यांक छ । २००७ मा पनि पश्चिम बंगालमा ५ जना संक्रमित भेटिएका थिए । २०१८ मा भारतको केरलामा भाइरस फैलिएको थियो । त्यतिबेला संक्रमणका कारण १७ जनाको मृत्यु भयो । पश्चिम बंगालमा १९ वर्षपछि भाइरस पुष्टि भएको हो ।

– सुदीप कैनी