काठमाडौँ, पुस १३ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टीको दोस्रो वरीयतामा बस्ने भएका छन् । रास्वपा सभापति रवि लामिछाने र बालेनबीच आइतबार बिहान ७ बुँदे सहमति भएको थियो । सहमतिअनुसार पार्टी, चुनाव चिह्न र झन्डा रास्वपाकै रहनेछ ।
रास्वपामा यसअघि ५० प्रतिशत आफ्नो पक्षका नेताहरू सहभागी गराउनुपर्ने लगायतका विषय बालेनको तर्फबाट अगाडि सारिएको थियो । लामिछानेले भने अहिले प्रतिशत भन्ने भन्दा पनि राम्रा मान्छेहरू सहभागी गराउनुपर्ने अडान लिएका थिए ।
त्यसपछि जेन-जी आन्दोलनमा सहभागी युवा तथा स्वच्छ छविका मानिसहरूलाई पार्टीमा सहभागी गराउनेबारे रवि र बालेनबीच सहमति भएको हो । रास्वपा र बालेनबीचको वार्तामा रास्वपाका तर्फबाट सहभागी शिशिर खनालले पार्टीको दोस्रो वरीयतामा बालेन रहने गरी सहमति भएको बताए ।
बालेनले अहिले कुनै पनि पद नमागे पनि पार्टीमा दोस्रो वरीयता हुने भएको हो । ‘पार्टी संरचनामा नयाँ, जेन-जी लगायतका युवाहरूलाई जोड्ने भन्ने छ । थप संरचना गठन हुनेछन् । बालेनले पद लिनुभएको छैन । उहाँले म केन्द्रीय समितिमा सदस्य मात्रै बस्छु भन्नुभएको छ । त्यो उहाँको सदासयता हो,’ खनालले भने, ‘त्यतिको नेतालाई पार्टीले सम्मानित पद दिनैपर्छ । उहाँ दोस्रो वरीयतामा बस्नुहुन्छ।‘
बालेनलाई आगामी प्रतिनिधिसभा चुनावमा प्रधानमन्त्रीको उम्मेदवार तोक्ने र आगामी संसदीय दलमा दलको नेता घोषणा सहमतिपत्रमा नै उल्लेख गरिएको छ । त्यस्तो अवस्थामा पार्टीको दोस्रो वरीयतामा बालेन बस्नु स्वभाविक रहेको खनालको भनाइ छ । विगतमा कांग्रेस छोडेर स्वर्णिम वाग्ले पनि रास्वपा केन्द्रीय सदस्यका रूपमा नै संलग्न भएका थिए । हाल रास्वपामा सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल र स्वर्णीम वाग्ले क्रमशः वरीयतामा छन् ।
रास्वपाको संगठनमा बालेनका पक्षका र जेन-जी लगायतका प्रतिनिधिलाई सहभागी गराउने विषयमा पनि सहमति भएको छ । कति प्रतिशत ल्याउने भन्दा पनि राम्रा मान्छे ल्याउने सहमति भएको खनालले बताए । ‘नयाँ मान्छे ल्याउने तर प्रतिशत भन्दा पनि राम्रो मान्छेहरूलाई स्थान दिँदै जाने भन्ने समझदारी भएको छ । प्रतिशततमा भन्दा पनि क्वालिटीमा ध्यान दिनेबारे सहमति भएको छ,’ खनालले भने ।
रवि र बालेनबीच ७ बुँदे सहमतिपत्रमा हस्ताक्षर हुँदा रास्वपाका दुवै उपसभापति उपस्थित थिए । त्यसका अलवा असिम शाह पनि संलग्न थिए । बालेनका तर्फबाट भने कुमार बेन, भुपदेव शाह, सुदीप ढकाल, केपी खनाल, निश्चल बस्नेत लगायतको उपस्थिति थियो ।
बालेनसँगको सहमतिसँगै रास्वपाले केन्द्रीय समितिमा नयाँ मान्छेहरू थपेर विवरण अद्यावधिक गर्नका लागि निर्वाचन आयोग जाने सहमति पनि गरेको छ ।
– जयसिंह महरा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















